arrow

राष्ट्रिय सभाका लागि मतदान हुँदै, पाण्डे र खड्का मैदानमा, यस्तो छ निर्वाचन तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
dirgha-pandey-chandra-khadka.jpg

घोराही । राष्ट्रिय सभा अन्तर्गत लुम्बिनी प्रदेशको उपनिर्वाचनको एक सदस्यका लागि सोमबार मतदान हुँदैछ । मतदान प्रदेशको राजधानी दाङको घोराहीमा हुँदैछ । मतदानका लागि सबैजसो मतदाता मतदान स्थलमा पुगेका छन् । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे र एमालेका चन्द्रबहादुर खड्काबीच कडा टक्कर चलिरहेको छ । 

मतदानका लागि घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । 

यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त रहेको थियो । एमालेले अहिले उनै खड्कालाई उम्मेदवार बनाएको हो । 

नेपाली कांग्रेसबाट पाण्डे मैदानमा रहेका हुन् ।  

रोमाञ्चक समीकरण
राष्ट्रियसभा सदस्य पदमा एमालेका खड्का दोहोरिन खोजेका बेला विपक्षी गठबन्धनका साझा उम्मेदवार पाण्डेको पृष्ठभूमि पनि फरकै छ । 

पाण्डे यसअघि कपिलवस्तुबाट एमालेतर्फ विजय भएका थिए । उनी पछिल्लो समय एमालेभित्र विभिन्न विकृति देखिएको भन्दै कांग्रेसका प्रवेश गरेका थिए । 

लुम्बिनीको समीकरण बागमती प्रदेशको जस्तै रहेको बुझिन्छ । बागमतीमा एमालेबाट (माओवादीबाट एमालेमा गएका) रामबहादुर थापा बादल रहेका थिए । त्यस्तै अर्का उम्मेदवार गठबन्धनबाट खिमलाल देवकोटा रहेका थिए । 

देवकोटाले बाजी मारे । एमालेको केपी शर्मा ओली समूहलाई राप्रपाले साथ दिएको थियो । एमालेको माधवकुमार नेपाल समूहका देवकोटालाई विपक्षी गठबन्धनले साथ दिएको थियो । 

लुम्बिनीको अंकगणितले पनि विपक्षी गठबन्धन बलियो देखाएको छ । गठबन्धनको कूल मत भार ३ हजार २६७ रहेको छ भने एमालेतर्फ २ हजार ८३२ छ।

गठबन्धनको कांग्रेसतर्फ, १९ जना प्रदेशसभा सदस्य, ४५ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कूल मत भार १ हजार ६८५, माओवादीतर्फ १८ प्रदेशसभा सदस्य, १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कूल मत भार १ हजार १८८, जनता समाजवादी पार्टीतर्फ २ जना प्रदेशसभा सदस्यसहित कूल मत भार २९४ र राष्ट्रिय जनमोर्चा तर्फ १ जना प्रदेशसभा सदस्य र ४ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार १२० रहेको छ।

यस्तै सत्तारुढ एमालेतर्फ ३८ जना प्रदेशसभा सदस्य र ५६ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कूल मत भार २ हजार ८ सय ३२ रहेको छ। मतदानमा सहभागी हुने अन्य दलतर्फ ७९ र स्वतन्त्र तर्फ ४ रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ