arrow

सरकारमा जानै लागेका ठाकुर–महतो पक्षलाई कानुनी झमेलाको डर

ठाकुर महतो पक्षलाई ओली आठ मन्त्रालय दिन तयार

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ १७ सोमबार
oli-mahantha-mahato-kp.jpg

काठमाडौं । सरकारमा जान तयार रहेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई सरकारमा गए पार्टीले गर्ने कारबाहीको विषयमा कानुनी झमेला उत्पन्न हुने भएको छ । जसपाको उपेन्द्र यादव पक्षले जसपाका नेताहरू सरकारमा गए स्वतः पार्टीबाट निष्कासित गर्ने चेतावनी दिएको छ ।

पार्टीबाट निकाल्नकालागि यादव पक्षले सबै कानुनी प्रक्रिया पूरा गरेको छ । कानुनी प्रक्रिया पूरा गर्न यादवले महन्थ ठाकुर पक्षका ठाकुर, महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई दुई पटक स्पष्टीकरण सोधेको छन् ।  

कार्यकारिणी समितिमा यादव प्रष्ट बहुमतमा छन् । बहुमतको आधारबाट यादवले सरकारमा जाने जसपाका सबैलाई पार्टीबाट निकाल्ने भएका छन् । यसको डर ठाकुर महतो पक्षलाई छ । जसपाको विधानमा सहमतिबाट निर्णय गर्न नसके बहुमतबाट निर्णय हुनेछ भनिएको छ, जुन विधान निर्वाचन आयोगमा समेत पठाएको छ । उक्त विधानलाई टेक्दै यादव पक्षले सरकारमा जाने जसपाका सबै नेताहरूलाई पार्टीको साधारण सदस्यताबाट समेत निकाल्ने भएको छ । त्यस अवस्थामा जसपाबाट सरकारमा जानेहरू पार्टीबाट प्रतिनिधित्व नभई व्यक्तिगत रूपमा हुनेछ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षसँग २८ जना सांसद छन् । त्यसमा पनि महेन्द्र यादव निकट रामनरेश राय यादव पनि उपेन्द्र यादव पक्षमा पुगेको स्रोतले बतायो । 

सरकारमा सहभागी हुन नपाए मन्त्री हुनकैलागि कित्ता परिवर्तन गरेकाहरू पुन उपेन्द्र यादव पक्षमा फर्कने डर ठाकुर र महतोलाई छ । मन्त्री हुनकोलागि यादव पक्षमा ५ जना सांसदहरू उमाशकर अरगरैया, विमल श्रीवास्तव, रेणुका गुरुङ, रुहीनाथ र कल्लुदेबी विश्वकर्माले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका छन् । उनीहरूलाई मन्त्री बनाउन दबाब ठाकुरलाई परेको छ । ठाकुर महतो पक्षबाट एक दर्जन भन्दा बढी मन्त्रीका आकाङ्क्षी छन् । 

सोमबार प्रधानमन्त्रीसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुर र महतोले यस बारेमा पनि कुराकानी गरेका थिए । सरकारमा जानुभन्दा पहिले पार्टीको आधिकारिकता जुटाउन आफूहरूले प्रयास गर्ने उनीहरूले जनाएका थिए । प्रधानमन्त्रीसँगको कुराकानीमा मन्त्रालय बाँडफाँडको  विषयमा पनि छलफल भएको जसपाका नेताहरूले जनाएका छन्। जसपाका नेता प्रमोद साहले सोमबार प्रधानमन्त्रीसँग भएको कुराकानीमा जसपाको भागमा ८ वटा मन्त्रालय टुङ्गो लागेको बताए ।



नयाँ