- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली पार्टीले बनाएको अनलाइन सफ्टवेयरमा इन्ट्री गर्ने काम कांग्रेसले गत १५ वैशाख राती १२ बजेबाट रोकेकोमा पुनः २५ जेठ राती १२ बजेसम्मका लागि थपेको हो ।
कांग्रेसले नयाँ वितरण गरिएका र पुराना नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण देशभरका २०७ स्थानबाट गर्दै आइरहेको थियो । ती मध्ये १०६ स्थानबाट क्रियाशील सदस्यको विवरण इन्ट्री गर्न बाँकी रहेको कांग्रेसले भनेको छ ।
कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले २५ जेठ राति १२ बजेसम्म क्रियाशील सदस्यता सम्बन्धी विवरण अनलाइन प्रणालीमा अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन निर्देशनसमेत गरेको छ ।
समितिका सचिव केशव रिजालले क्रियाशील सदस्यता छानबिन समितिले पूरा विवरण इन्ट्री गरिसकेका १०१ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जानकारी दिए ।
जसमध्ये ४५ जिल्लाका ८० स्थानको विवरण ३० वैशाखमा र १६ जिल्लाका २१ स्थानको विवरण गत शनिवार सार्वजनिक गरिएको उनले जनाएका छन् ।
उनका अनुसार हालसम्म करिब आठ लाख सदस्यको विवरण पार्टीले बनाएको प्रणालीमा इन्ट्री भइसकेको छ । ती मध्ये नामावली सार्वजनिक भइसकेका ठाउँबाट कसैको नाममा दाबी-विरोध वा उजुरी भए सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ ।
कांग्रेसले १४ औं महाधिवेशनमा पार्टीका क्रियाशील सदस्यता दोब्बर बनाउने नीति लिंदै आइरहेको छ । यसअघि कांग्रेसका क्रियाशील सदस्य चार लाख ८० हजार रहेकोमा कांग्रेसले नयाँ सदस्यता वितरण गर्दै सो संख्यालाई दोब्बर बनाउने जनाएको हो ।
कांग्रेसले आगामी ७ देखि १० भदौसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी मिति तय गरिसकेको छ । तर, सो मिति भित्र अब महाधिवेशन हुने सम्भावना टर्दै गएको छ । कोरोना भाइरसको महामारीका कारण पनि अब तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नभएको हो । यो म्याद गुज्रिदा कांग्रेसलाई वैधानिक रूपमा नै सकस पर्ने देखिन्छ ।
तर, कांग्रेस सभापति देउवाले भने भौतिक रूपमा उपस्थित हुने अवस्था नरहँदा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे छलफल जारी रहेको बताउँदै आइरहेका छन् । उनले केही दिन अघि प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा सो कुरा बताएका थिए ।
कांग्रेसको विधान अनुसार पाँच वर्षमा महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ । तर सो समयमा महाधिवेशन हुन नसके विशेष परिस्थितिमा संविधानले दिएको सुविधा प्रयोग गरेर ६ महिना पुनः म्याद थप्न सक्ने उल्लेख छ । सो समय पनि आगामी भदौमा संिकदै छ । गत वर्षको ६ फागुनमा बसेको केन्द्रीय समिति बैठकबाट संविधानको विशेष व्यवस्थाको प्रयोग गर्दै ६ महिना म्याद थप गरिएको थियो ।