arrow

काभ्रेका तीन अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर  सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
dhulikhel-hospital.jpg

धुलिखेल । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा जनताको जीवन रक्षाका लागि सक्रिय काभ्रेका तीन वटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ । 

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउन्डेसनले जिल्लाका धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गरेका हुन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको रोहवरमा सोमवार सम्बन्धित अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ  ।

प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीका अनुसार धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई एक-एक वटा भेन्टिलेटर, २-२ वटा अक्सिजन कन्सन्ट्रेटर, २०-२० थान पिपिई तथा मेथिनकोट अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर, २० थान पिपिई हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, सुप्रसिद्ध गायिका एवं समाजसेवी आनी छोइङ डोल्मा, नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धुलिखेल अस्पतालका डा. रमेश श्रेष्ठ र डा. दीपक श्रेष्ठ, शिर मेमोरियल अस्पतालका डा. एन्जिला, डा अरुण गुप्ता र कार्यकारी निर्देशक सुन्दर थापा, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । 

काभ्रेका यी तीन वटै अस्पताल अहिले कोभिड डेडिकेटेड अस्पतालको रूपमा कोरोना सङ्क्रमित बिरामीको जीवन रक्षाका लागि सक्रिय छन् । यी अस्पताललाई प्राप्त स्वास्थ्य उपकरणबाट अस्पतालको सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याञ्जुले स्वास्थ्य सामग्री सहयोगको हिसाबले काभ्रेपलान्चोक जिल्लामा यो ठुलो सहयोग भएको र यसले मानिसको जीवन बचाउन ठुलो राहत मिल्ने बताए । यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राज्यले गर्नुपर्ने काम कुनै व्यक्ति र संस्थाले गर्दा कोभिडविरुद्धको अभियान सफल बनाउन थप मद्दत पुग्ने बताए । उनले यो जनताको जीवन रक्षाको अभियानमा डिसिसिएमसीलाई पनि सहभागी गराएर सहयोग उपलब्ध गराएकोमा सहयोगी संस्थाको प्रशंसासमेत गरे । 

यस्तै सहयोगी संस्थाको तर्फबाट सुप्रसिद्ध गायिका आनी छोइङ डोल्माले आफूहरू प्रचार र हल्ला गर्नभन्दा विपद्मा साथ दिन आएको बताउँदै भोलिका दिनमा राज्य र समुदायलाई जोगाउन आफूहरूको साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् । अस्पताललाई उपकरण सहयोग गरेर नागरिकको ज्यान बचाउन पाए त्योभन्दा ठुलो आत्मसन्तुष्टि हरू कुनै हुन नसक्ने उनको भनाई थियो । 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वोरी ओझा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झा, कालिज गणका गणपति मिलन थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडा, सशस्त्र प्रहरीका डिएसपी मनोहरी कुइकेल, नेपाल पत्रकार महासङ्घ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रारम्भ संस्थाका सदस्य सुनैना क्षेत्री र माधव क्षेत्री लगायतको सहभागिता रहेको थियो । 

यसअघि प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउन्डेसनले बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमो बुद्ध नगरपालिका तथा भुम्लु र रोशी गाउपालिकाका आइसोलेसन केन्द्रका लागि अक्सिजन कन्सन्ट्रेटर, पिपिई, पल्स अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् ।



नयाँ