arrow

टुटफुट एमाले

पार्टी भित्र विद्रोह हुने डरले किस्तामा कारबाही गर्ने मुडमा अध्यक्ष ओली

सर्वोच्चको फैसला लगत्तै नयाँ पार्टी खोल्ने नेपालको सङ्केत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ १७ सोमबार
oli-nepal-uml.jpg
फाइल तस्बिर

काठमाडौँ। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला आए लगत्तै नयाँ पार्टी खोल्ने सम्भावना रहेको सङ्केत गरेका छन्। एमाले स्थायी कमिटीको पूर्व सन्ध्यामा एमालेबाट निष्कासित भएका नेता नेपालले दिनहुँ जस्तो आफ्ना कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो सङ्केत गरेका हुन्। यस्तो सङ्केतपछि एमाले ओली समूहले मङ्गलवारका लागि स्थायी कमिटी बैठक राखेको छ।

एमाले स्थायी कमिटीको बैठक आइतबार बस्ने भनिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवारका लागि सारेका छन्। नेपाल समूहले बनाइरहेको रणनीति र उनले जन वर्गीय सङ्गठनका बैठकमा गरेका सम्बोधनलाई विश्लेषणलाई ध्यान दिएर मङ्गलवारसम्म बैठक सारेको बताइन्छ। लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल समूहले खेलेको भूमिकालाई पनि लिएर मङ्गलवारको बैठकमा समीक्षा गर्ने तथा नेपाल समूहले नयाँ दल गठन गर्ने बारेमा गरिएको छलफलको विषयमा पनि ओली पक्षले स्थायी कमिटीमा छलफल गर्ने भएको छ।

आइतबार नेपालले विद्यार्थी सङ्गठनको बैठकमा बोलेको भिडियो बालुवाटारमा लगिएको थियो। सो भिडियो बालुवाटारमा ईश्वर पोखरेल र सुवास नेम्वाङको साथमा बसेर ओलीले सुनेका थिए। नेपालले गरेको सम्बोधनपछि ओलीले नयाँ दल नै गठन गरेर जाने भए पनि एमालेभित्र राख्न सक्ने अवस्था नभएको निष्कर्षमा पुगेका स्रोतको दाबी छ।

नेपालले आइतबार आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको जुम बैठकमा ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको बताएका थिए। नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निर्क्योलमा पुग्न निर्देशन दिएको बताएका थिए।

‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, विद्यार्थीहरूको बैठकमा नेता नेपालले भनेका थिए। एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण विष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भमा सो कुरा बताएका थिए।

नेता नेपालले आफूसहित वार्ता विवाद समाधान कार्यदलका संयोजक भीम रावललाई नै कारबाही गरेर निकालेपछि ओलीले पार्टी एकता बचाउने स्थिति नदेखिएको बताएका थिए। ओलीले सहमति लत्त्याएकाले एकता कठिन भएको भन्दै नेपालले विद्रोहबाट बन्ने पार्टीको नेतृत्व लिन दोस्रो पुस्ता तयार भए आफू नेतृत्व हस्तान्तरणका निम्ति तयार रहेकोसमेत जानकारी दिएका थिए।

आइतबार राती नै ओलीले नेपालको सबै भाषण सुनेका थिए। उनले सो भाषण सुनेपछि सोमबारको बैठक स्थगित गरेर मङ्गलवार पुर्‍याएका थिए। २ जेठ ०७५ अघिको अवस्थामा एमालेलाई फर्काउने र २३ फागुन पछिका निर्णय खारेज नभए एकता सम्भव नहुने नेपालको भनाइमा ओलीले यसलाई अस्वीकार गर्दै आएका छन्। ओलीले अहिले पनि २०७५ साल जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन नसक्ने जनाउ दिइसकेका छन्। ओली अहिले पनि नेपाल लगायतका नेताहरू पार्टीबाट निस्केर जाउन् भन्ने पक्षमा रहेको स्रोतको दाबी छ।

नेपाल निकट रहेका गोकर्ण विष्टले अझै एमाले एकता बचाएर जानुपर्छ भन्नेमा रहेको बताएका छन्। ‘यसमा मेरो अझै पुरापुर कोसिस पार्टी एकतालाई बचाउन सकिन्छ भन्ने आस कायमै छ, केपी ओलीबाट धेरै आशा गर्ने ठाउँ त छैन, तर पाँचौँ महाधिवेशनमा मदन भण्डारीले फरक मतलाई पनि सम्बोधन गरेर पार्टी एकता बचाएर नेतृत्व दिएकाले अहिले पनि किन कोसिस नगर्ने भन्ने हो,’ नेता विष्टले भने।

उनका अनुसार पार्टी एक भएर अघि बढ्ने कुरामा कसैको विमति नभएको र कुराकानी गर्ने मेलो अहिले नमिलेको बताएका छन्। तर मङ्गलवार बस्ने स्थायी कमिटी बैठकबाट ओलीले नेपाल पक्षका केही नेताहरूलाई कारबाही गरेर जाने विषयमा छलफल हुने बताइएको छ।  ‘एकै पटक कारबाही गरेर जाने कि किस्ता किस्तामा कारबाही गर्नै भन्ने बारेमा छलफल हुनेछ सांसदहरूलाई कारबाही गर्ने विषयमा अलि अलि फरक धारण पनि आएको छ।

एकै पटक कारबाही गर्दा पार्टीले निष्कासन गरेको र विभाजन गराउन सहयोग गरेको आरोप लाग्ने भएकाले तत्काल सबैलाई कारबाही नहुन पनि सक्छ’, ओली पक्षका स्थायी कमिटी सदस्यले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ