- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । हरेक वर्ष चैतमा नदीजन्य पदार्थ निकासीका लागि भन्दै स्थानीय तहहरूले धमाधम ठेक्का आह्वान गर्ने र सोही अनुरूप क्रसर उद्योगहरूले ठेक्का लिएको खोलालाई भस्मासुर रूपमा उत्खनन गर्ने चलन जेठ ताक देख्न सकिन्छ । स्थानीय तहको प्रमुख आय मानिने खोलामा सबै तह सम्मको आँखा गडेको हुन्छ ।
विभिन्न आयोजना एवं विकास निर्माणको नाम उल्लेख गर्दै स्थानीय तहले नदीजन्य पदार्थ निकासी गर्दा हरेक वर्ष स्थानीय खोलाहरू गहिरिँदै गएको खोला किनारमा बस्ने स्थानीयको भनाई छ । जसको असर खोला छेउछाउमा बसोबास गर्दै आएका स्थानीयहरूले भूक्षय मात्रै होइन पहिरोले विस्थापित समेत हुन पुगेको घटना प्रत्येक वर्षको वर्षातमा खेप्दै आएको दुख सुनाउँछन् ।
पहिरोले विस्थापित भएर घरबार विहीन भएकाहरूलाई सान्त्वना स्वरूप सस्तो लोकप्रियता कमाउन पुग्ने स्थानीय तहका प्रमुखहरूले खोला जन्य पदार्थ निकासीले के कस्ता समस्या निम्त्याउँछ भन्ने विषयमा गम्भीर नहुने गरेको बुटवल उपमहानगरपालिका वडा नं.१८ झण्डापुरका एक स्थानीयले भने । उनी भन्छन् बरु स्थानीय निकायका प्रतिनिधिहरू कसरी ठेक्का लगाउने र कमिसन हात पारौँ भन्ने तर्फ अग्रसरता देखाउने गरेको बताए ।
स्थानीयहरू बोल्न नसक्ने गरी सञ्जाल फिँजाएर ईआईए गरिएको र विकास निर्माणको लागि निकासी गर्न लागेको खुलाउने गरे पनि तर तोकिएको घनफूट भन्दा धेरै मापदण्ड विपरीत उत्खनन सवारी प्रयोग र घाटगद्धी गर्ने गरेकाले मनपरी उत्खननले खोला किनारका बस्ती आगामी दिनमा जोखिममा पर्ने स्थानीयहरू बताउँछन् ।
जिल्लाका बुटवल उपमहानगर तिलोत्तमा नगरपालिका देवदह नगरपालिका कोटहीमाई गाउँपालिका र अन्य पालिका भित्र पर्ने स्थानीय खोलाहरूमा उत्खनन भइरहेको छ । बुटवल १८ झण्डापुरमा ३ करोड ३६ लाख र वडा नं.१७ हरिहरपुरमा ३ करोड ४५ लाख रुपैयाँ ठेक्का लगाइएको बुटवल उपमहानगरपालिका राजस्व महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए ।
जसले गर्दा न्यूनतम मूल्यमा नदीजन्य पदार्थ सहज रूपमा पाउने स्थानीयहरू क्रसर उद्योगहरूले ठेक्का लिएपछि एक टिपर बराबर २० हजार रुपैयाँ भन्दा बढी चर्को मूल्य तिर्न बाध्य भएका छन् । हरिहरपुरका एक स्थानीय रमेश नाम बताउनेले भने स्थानीयलाई घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ ल्याउँदा कानुन लाद्ने स्थानीय तहले मनपरी उत्खननलाई किन देख्दैन भनी अक्रोस् पोख्दै बर्सेनि उत्खननले खोलाको सतह गहिरिँदै गएकोले भूक्षयको समेत खतरा बढेको जनाए ।
के भन्छन् जिससका प्रमुख विश्वकर्मा
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा भन्छन् जिल्लाका देवदह स्थित घोडा खोला बुटवल स्थित तिनाउ नदी तिलोत्तमा स्थित सुखौरा खोला र दानव नदी लगायतमा नदीजन्य पदार्थ निकासी हुँदै गरेको बताए ।
उनले भने यी मध्ये तिलोत्तमा नगरपालिकाले लगाएको ठेक्का बारे आफूहरूलाई औपचारिक जानकारी नभएको जनाए ।
किन तिलोत्तमा नगरपालिकाले जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्दैन ? भन्ने जिज्ञासामा प्रमुख विश्वकर्माले भने तिलोत्तमा नगरपालिका आफैमा भिआइपी नगरपालिका हो उसले आफ्नो स्थानीय तहको अधिकार प्रयोग गर्याे होला । तर कहिकतै नियम विपरीत काम भएको भेटिएमा कानुन अनुसार कारबाही गरिने स्पष्ट पारे ।