arrow

शान्ति समाजको स्थापना दिवसमा रक्तदानसहित २२ कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
santi-samaj-blood-donate.jpg

काठमाडौँ । शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाज र कागेश्वरी मनोहरास्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । 

समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई एक हजार लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई दुई थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।  

रुपन्देही शाखाले सिर्जनशील समाजद्वारा सञ्चालित बालगृहलाई खाद्यान्न सहयोग गर्नाका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररत बिरामीलाई खाजा खुवाएको छ । समाज स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले ज्येष्ठ नागरिक वृद्धाश्रम देवीघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकलाई, नवलपुर शाखाले गैँडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामग्री सहयोग गरेको छ । 

तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रित रही सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था समाजको स्थापना २०५३ साल जेठ १९ गते भएको थियो ।

 समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल छन् । कृष्ण कँडेल, लीला खनाललगायत संस्थापक सदस्य छन् । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल छन् भने सल्लाहकारमा पूर्वसभापतिद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी छन् । 

यसैगरी पूर्वसभापति डा गङ्गाधर अधिकारी यसअघि सल्लाहकार रहिसकेका छन् । हाल ३९ जिल्ला शाखा र एक हजार ४०० भन्दा बढी आजीवन सदस्य रहेको समाजमा स्थापनाकालदेखि सदस्यता लिनेहरुको सङ्ख्या १२ हजार नाघेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ