arrow

आयोगको शरणमा जसपा

कार्यकारिणीमा बहुमत जुटाउन जसपाको दुवै पक्ष सक्रिय

निर्वाचन आयोगले ढाँचा नपुगेको भन्दै ठाकुर र यादवलाई चिठी पठायो

logo
आकाश शर्मा,
प्रकाशित २०७८ जेठ १९ बुधबार
jasapa-rajpa.jpg
फाइल तस्बिर

काठमाडौँ। पार्टीका  फुटको अवस्थामा पुगे पछि कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सक्रिय भएको छ। कार्यकारिणीमा जसको बहुमत हुन्छ, कानुनी रूपमा जसपा उसकै हुन्छ। पोहर साल जसपाले निर्वाचन आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ।

अहिलेसम्म उपेन्द्र यादव पक्ष बहुमतमा छ। गत जेठ ८ गते उपेन्द्र पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकमा कार्यकारिणीका बहुमत सदस्यहरू उपस्थिति भएका थिए। उक्त बैठकलाई ठाकुर पक्षले बहिस्कार गरेको थियो।

ठाकुर पक्षका नेता महेन्द्र यादवले कित्ता परिवर्तन गरे पछि उपेन्द्र यादव पक्ष कार्यकारिणीमा बहुमतमा पुगेको हो। महेन्द्र र महेन्द्र निकट ४ जना सदस्य उपेन्द्र यादव पक्षमा पुगेका छन्। त्यसो त, उपेन्द्र यादव पक्षका ५ जना सांसदहरू कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएका छन्। तर,  कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा गएका सांसदहरू कार्यकारिणी समितिका सदस्य होइनन्। त्यसैले उपेन्द्र यादव पक्ष कार्यकारिणीमा बहुमतमा छ।

कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले आफूहरू आधिकारिक भएको बताए।‘आधिकारिकताको विवाद होइन । कार्यकारिणीमा जसको बहुमत हुन्छ। आधिकारिक त्योसँग हुन्छ’राईले भने,‘कार्यकारिणीमा हामी बहुमतमा छौ।’

तर ठाकुर पक्षका नेताहरू यादव पक्षका ५ सांसदहरूले कित्ता परिवर्तन गरे झैँ कार्यकारिणीका केही सदस्यहरूले पनि कित्ता परिवर्तन गरी आफू तीर आएको दाबी गर्छन्। कित्ता परिवर्तन गरेका कार्यकारिणी सदस्यहरूको बारेमा भने उनीहरूले बोल्दैन। स्रोतका अनुसार ठाकुर पक्षका नेताहरूले कित्ता परिवर्तन गर्न सक्ने सम्भावित यादव पक्षका नेताहरूसँग सम्पर्क अघि बढाएका छन्।

यसकोलागि उनीहरूले अशोक राई निकट कार्यकारिणी समितिका सदस्यहरूसँग छलफल सुरु गरेका छन्। राई निकट सांसद रेणुका गुरुङले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेकी छन्। रेणुकालाई झैँ राई निकट ४ कार्यकारिणीका सदस्यहरूलाई  कित्ता परिवर्तन गराउने प्रयास भइरहेको ठाकुर निकट स्रोतले बतायो।

अहिलेसम्म ५१ सदस्यीय कार्यकारिणीमा २८ जना उपेन्द्र यादव पक्षसँग र बाँकी ठाकुरसँग छन् तर अहिले परिस्थिति परिवर्तन भइसकेको ठाकुर निकट नेताहरू बत्ताउँछन्।

निर्वाचन आयोगले भन्यो, ठाकुर र यादवको दुवै चिठीको ढाँचा मिलेन
यता निर्वाचन आयोगले उपेन्द्र यादव र महन्थ ठाकुरले आयोगमा पठाएको  दुवै  पक्षको चिठी राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसार ढाँचा नपुगेको जनाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधवार दुवै पक्षलाई यस सम्बन्धी जानकारी चिठी लेखेर गराएको बताए। मङ्गलवार ठाकुर र यादव  दुवै पक्षले आयोगलाई चिठी लेखी एकले अर्कोलाई पार्टीबाट निष्कासित गरेको जानकारी गराएका थिए। पार्टीको दर्ता कितावखानामा अद्यावधिक गर्न पनि उनीहरूले आयोगलाई जानकारी गराएका थिए।

आयोगका अनुसार चिठीको प्रक्रिया नपुर्‍याउनेमा यादव पक्ष भन्दा ठाकुर पक्ष अगाडि छ। ठाकुर पक्षले कार्यकारिणी समितिको निर्णयको फोटोकपी समेत आयोगलाई नपठाएको आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ