arrow

हृदयाघात भएका कोरोना संक्रमितको नोबेलमा गरियो शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
nobel.hosptial.jpg

विराटनगर । हृदयाघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ । हृदयाघात भएर अस्पताल भर्ना भएका इटहरी-३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो ।

नोबेलका निर्देशक एवं मुटु रोग विशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरूको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साता अघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै होम आइसोलेसन बसेका थिए । आकस्मिक रूपमा छाती दुख्न थालेपछि उनलाई नोबेल अस्पताल भर्ना गरियो । परीक्षण गर्दा हार्ट अट्याक भएको देखिएपछि तत्काल प्राइमरी एन्जियोप्लाष्टि गरिएको नोबेलका निर्देशक एवं मुटु रोग विशेषज्ञ डा.नेपालले बताए । 

‘होम आइसोलेसनमा बसेका बेला चेस्टपेन भएर अस्पताल ल्याउनु भएको थियो । सुरुमा मुटुको इसीजी गर्दा हार्ट अट्याक देखियो । त्यसपछि एन्जियोग्राफी गर्दा मुटुको देब्रे नशा पूर्ण रूपमा ब्लक देखिएपछि एन्जियोप्लाष्टि गरेर ब्लकेज खोलेका छौँ,’ डा.नेपालले भने, ‘यस्तो अवस्थामा अरू रिपोर्ट पर्खन थाल्यो भने बिरामीको मुटु झन्-झन् कमजोर हुँदै गएर ज्यान जान्छ । त्यसैले बिरामीको ज्यान बचाउन कोरोना संक्रमित थाहा पाउँदा-पाउँदै पनि स्वास्थ्य सावधानी अपनाएर प्राइमरी एन्जियोप्लाष्टि गरेका हौँ ।’

संक्रमितको खुट्टाको नशाबाट सूक्ष्म तार छिराएर मुटुको ब्लक खोली त्यहाँ जाली लगाइएको हो । चिकित्सकहरूले पिपिई लगाएर पूर्ण रूपमा स्वास्थ्य सावधानी अपनाई एन्जियोप्लाष्टि गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य छ ।

त्यस्तै गरी मोरङको कानेपोखरी घर भएका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि नोबेलमा एन्जियोग्राफी गरिएको छ । उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । छाती दुखेर अस्पताल भर्ना भएका संक्रमितको एन्जियोग्राफी गर्दा मुटुको नशा सामान्य ब्लक देखिएकाले थप उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

यसअघि दुर्घटना भएर मस्तिष्कमा रगत जमेर आएकी सुनसरीको बर्जू गाउँपालिका-४ की ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि नोबेलमा सफल शल्यक्रिया गरिएको थियो । कोरोना संक्रमितलाई अन्य स्वास्थ्य समस्या हुँदा ज्यान थप जोखिममा हुने भएकाले उनीहरूलाई जस्तोसुकै उपचार गर्न पनि नोबेल तयार रहेको नोबेलका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ