arrow

राप्रपामा विवादः सरकारमा जाने पक्षमा कमल थापा, विपक्षमा उभिए अध्यक्ष राणा र लोहनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
kamal-prakash-pashupati.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरी विवाद उत्पन्न भएको छ । तीन अध्यक्ष रहेको राप्रपामा अध्यक्ष कमल थापा वर्तमान केपी ओली सरकारको पक्षमा देखिएका छन भने अध्यक्षद्वय पशुपतीशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी ओली सरकारको विपक्षमा उभिएका छन् ।

अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणालाई स्वागतयोग्य कदम भन्दै आइरहँदा राप्रपाकै अध्यक्षद्वय जबरा र लोहनी भने प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक भन्दै आएका छन् ।

हाल आएर अध्यक्ष थापा ओली नेतृत्वको सरकारमा जाने गरी छलफल र वार्ता अघि बढाएपछि राप्रपामा असन्तुष्टी चुलिएको हो । राप्रपाका एक नेताले अध्यक्ष थापा सरकारमा जाने हुटहुटी चलेको र सोही कारण पार्टी भित्र विवाद बढेको जानकारी दिए ।

‘कमल थापालाई सरकारमा जाने हुटहुटी चलेको छ, अध्यक्ष जबरा र लोहनी त्यो पक्षमा हुनुहुन्न, त्यसैको पिडा थापाले सामाजिक संजालमा पोख्नु भएको रहेछ,’राप्रपाका एक नेताले हाम्राकुरासँग भने ।

राप्रपा अध्यक्ष थापाले सामाजिक संजालमा पार्टी एकताप्रति पश्चाताप व्यक्त गरेका छन् । उनले पार्टी भित्र देखिएको असन्तुष्टीलाई सोमबार सामाजिक संजालमासमेत पोखेका हुन् ।

‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन । दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन’ अध्यक्ष थापाले लेखेका छन् ।

राप्रपा स्रोतका अनुसार प्रधानमन्त्रीले गरेको संसद विघटनका विषयमा अध्यक्षत्रयबीचमा फरक मत भएपछि राप्रपा भित्र विवाद बढ्दै आएको थियो । जुन विवाद् राष्ट्रिय सभातर्फ बागमती प्रदेशतर्फको उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापालाई राप्रपाले मतदान गर्ने निणर्य गरेपछि झनै चुलिएको थियो ।

सोही कारण लुम्बिनी प्रदेशतर्फको रिक्त रहेको राष्ट्रिय सभा उपनिर्वाचनमासमेत विवाद देखिएपछि प्रदेश सभा सदस्य धवलशमशेर राणा मतदानमा नै सहभागी भएका थिएनन् ।

‘कम्युनिष्ट सत्तासँग मिल्ने कुरा हाम्रो सिद्धान्तले स्वीकर्दैन, कम्युनिष्ट र हाम्रो बाटो नितान्त फरक छ, तर, थापा अध्यक्षज्यू त्यता नजिक हुँदा राप्रपामा विवाद् बढेको हो,’ राप्रपाका एक उच्च तहका नेताले भने । थापा नेतृत्वको राप्रपा र जबरा तथा लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच २०७६ फागुन २८ मा एकता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ