arrow

‘त्यो ओली पार्टी हो एमाले हैन, ओलीबाट लोकतन्त्रलाई खतरा छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
yubraj-gyewali.jpg

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बसेर संचालन गरेको पार्टी गतिविधि एमालेको नभएको ठोकुवा गरेका छन् । उनले त्यसलाई ओली पार्टी भनेका छन् । 

मिडियासँग माधवकुमार नेपाल–झलनाथ खनाल समूहको एमालेका स्थायी कमिटीका बैठकको निर्णयबारे जानकारी दिने क्रममा ज्ञवालीले बालुवाटारमा बसेर एमाले पार्टीमाथि हस्तक्षेप गरेर आफूले संचालन गरेको गतिविधि केबल ओली पार्टीको मात्र भएको बताएका हुन् । 

उनले ओलीबाट लोकतन्त्रलाई खतरा रहेको भन्दै सम्पूर्ण लोकतन्त्रवादी पार्टीहरु एक भएर ओलीलाई परास्त गर्नुपर्ने पनि जनाएका छन् । उनले भने, ‘त्यो ओली पार्टी हो एमाले हैन, ओलीबाट लोकतन्त्रलाई खतरा छ ।’

उनले २०७७ पुस ५ गते संसदविघटन गरेपछि देश र पार्टीका लागि संकट शुरु भएको उल्लेख गर्दैै ‘सत्तामा बसेको देशको कार्यकारीले संविधान मिच्दा कचिसम्म असर पर्दो रहेछ भन्ने स्पष्ट भएको छ’ भने ‘विडम्बना केपी ओलीजी निरन्तर संविधान मिच्न लागिरहनु भएको छ । उहाँले आफूलाई बनाएको संसदमाथि झम्टनु भयो । आफूले बनाएको संविधान मिच्नुभयो ।’

उनले ओलीले कसरी मुलुकलाई खतरामा पारे भन्ने बारेमा स्पष्ट पार्दै भने, ‘संविधान मिच्यो भने लोकतन्त्र खतरामा पर्छ । उहाँले सबैभन्दा बढी संविधान मिच्नु भएको छ । देशको कार्यकारीले नै संविधान मिच्यो भने त लोकतन्त्र त्यसै पनि झन् खतरामा पर्छ । पुस ५ देखि मुलुकको लोकतन्त्रलाई खतरा यदि कसैसँग छ भने त्यो ओलीबाट हो ।’

उनले थप भने, ‘उहाँ प्रतिगमनको यात्रामा तीव्र रुपमा अगाडि बढ्दै हुनुहुन्छ । उहाँबाट लोकतन्त्रलाई खतरा छ । बाँकी सबै लोकतन्त्रवादीहरु मिल्नुपर्छ । हामीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रवादी शक्ति पनि भनेका छौं ।’ 

नेपाल–खनाल समूहलाई आह्वान गर्दै पुरानै अवस्थामा पार्टी लैजाने भनी ओलीले दिएको अभिव्यक्तिको यो समूहले विश्वास गरेको छैन । स्थायी कमिटी बैठकले पनि सोही निष्कर्ष निकालेको छ । नेता ज्ञवालीले भने, ‘केपी ओलीले गरेको आह्वान छलछामपूर्ण छ । पार्टी एकता गर्न खोजेको देखिँदैन ।’

उनले भने, ‘पहिलेदेखि नै ७५ साल जेठ २ को स्थितिमा पार्टीलाई लैजान आग्रह गरिरह्यौं । उहाँले टेर्नुभएन । अहिले जेठ २ को स्थितिमा जान सकिन्छ भनेर भने पनि त्यो छलछामपूर्ण नै छ भन्ने ठहर गर्यौं । उहाँले विधानलाई मानेर जानु भएको छैन । बालुवाटारबाट एमाले हैन ओली पार्टी संचालन गरिरहनु भएको छ । यो निर्णय एमालेको हैन ओली पार्टीको हो ।’

नेता ज्ञवालीले भने, ‘उहाँले कारबाही फिर्ता पनि गर्नुभएको छैन । अनि जेठ २ मा जान सक्छु भनेर उहाँले अल्मलाइरहनु भएको छ । एकता आवश्यक छ । हामी शुरुदेखि नै लागिरहेका छौं । तर छलछाममा अल्झिन्नौं । ओलीजी एकता गर्न नै चाहनु हुन्न । उहाँले बालुवाटारबाट पार्टी चलाइरहनु भएको छ ।’

थप स्पष्ट पार्दै भने, ‘यो विधानसम्मत छैन । उहाँ जेठ २ गते फर्कन चाहनु भएको छैन । बालुवाटारमा गरेका निर्णयमा मिसाउन खोज्नु भएको हो । सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । उहाँले संविधान मिच्नु भएको छ । संविधान र लोकतन्त्रलाई बचाएर फेरि एकताका लागि अगाडि बढ्न सकिन्छ । उहाँले संसद विघटन गरेर गल्ती गरेँ भनेर भन्नु भयो भने हामीले हस्ताक्षर फिर्ता लिन्छौं ।’

विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाको उपेन्द्र यादव पक्षसँग मिलेर गरेको हस्ताक्षर तत्काल फिर्ता नहुने उनले बताए । भने, ‘सर्वोच्चमा मुद्दा जारी रहेसम्म विपक्षी गठबन्धनसँग भएको सहमतिअनुसारको हस्ताक्षर फिर्ता हुँदैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ