arrow

अक्सिजनका खाली सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको अनुरोध

सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको उच्च जोखिम कायमै

logo
रासस,
प्रकाशित २०७८ जेठ २५ मंगलबार
oxygen-cylinder-1620466948.jpg
फाइल तस्बिर

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिन्डर उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले अक्सिजन सिलिन्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिन्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन आग्रह गरेको छ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिन्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गरेका हुन्।

उनले खाली सिलिन्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ती सिलिन्डर उपलब्ध गराउन अनुरोध गरेका हुन्। 

“उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिन्डर विभिन्न कारणले देशमा विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन्” उनले सूचनामा भनेका छन्, “ती सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिलाई अप्ठ्यारो हुन्छ।

त्यसैले जुनसुकै व्यक्ति संस्था वा निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ।”

उनले अस्पताललाई पनि अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भनेर राख्नु हुन, अक्सिजन प्लान्ट वा टङ्याक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा अक्सिजन सञ्चालनसमेत गर्न अनुरोध गरेका छन्।

सह प्रवक्ता डा अधिकारीले सङ्ख्यात्मक रूपमा सङ्क्रमण केही कम भएको जस्तो लक्षण देखिए पनि महामारीको उच्च जोखिम कायमै रहेको उल्लेख गरेका छन्। अहिलेसम्म नेपालमा पाँच लाख ९१ हजार ४९४ सङ्क्रमण, चार लाख ९७ हजार ९६०  निको र सात हजार ९९० सङ्क्रमणबाट निधन भइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ