arrow

माता तीर्थमा अक्सिजन प्लान्टको स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
tamang-plant.jpg

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित माता तीर्थ सामुदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन सँगै आइसोलेसन सेन्टरको निरीक्षण गरेको हुन् । काठमाडौँ लोकन्थलीस्थित मुनरक ईन्टरनेश्नल प्रा.ली ले उक्त प्लान्ट जडान गरेको हो । 

उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरि नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिए । उनले भने,‘तपाईँहरूको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ । यो खुसीको खबर हो । तपाईँहरू सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरे पनि चन्द्रागिरि नगरपालिका पहिलो भएको भन्दै पुनः बधाई दिए । 

उनले सरकारले देशव्यापी रूपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाएका छन् । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई रहेको छ । मन्त्री तामाङले उक्त सामुदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्धको खोपको सुनिश्चित गर्नेगरि काम गरिरहेको बताउँदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे ।

कार्यक्रममा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी श्री मुनरक ईन्टरनेश्नल प्रा.ली.का प्रबन्ध निर्देशक ई. प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरूले काम सम्पन्न गरेको बताए । उनले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिन्डर उत्पादन गर्ने पनि जानकारी दिए । उनले दश दिनभित्रै प्लान्ट जडान गर्न सकिने पनि बताएका छन् । 

कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरिन् । उनले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गरेकी छन् ।

त्यस्तै, कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । उनले यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे । 

त्यस्तै, चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरू, जनप्रतिनिधिहरूको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
 



नयाँ