- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मातहतका कर्मचारीहरुलाई सामान्य अवस्थामा एकदिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन दिएका छन् ।
मंगलबार र बुधबार दुईदिन चलेको भर्चुअल नियमित समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले कार्यालय प्रमुखहरु नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले यस बर्ष मनसुन चाँडो हुने पूर्वानुमान भएकोले त्यसबाट राजमार्गहरुमा आउन सक्ने अवरोधहरु व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिए ।
उनले भने, ‘यस पटक मनसुन चाडो हुने पूर्वानुमान गरिएको छ । मनसुनका कारण राजमार्गहरु अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौ भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरुमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसंग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ ।’
उनले नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत संभारलाई समेत विशेष ध्यान दिनुपर्ने भन्दै राजमार्गहरु खाल्डाखुल्डी रहित बनाउनु पर्ने बताए ।
उनले प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक भएको बताए । उनले भने, ‘प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक छ । आर्थिक बर्षको अझै केहिदिन बाँकी छ । प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नु होला ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत धारणा राखेका थिए ।
गोष्ठीमा सडक डिभिजन प्रमुखहरुले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुती राखेका थिए ।