- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । कोरोना महामारी नियन्त्रण गर्न सहयोग स्वरुप बाजुराका विभिन्न स्थानीय तहमा साइन नेपाल नामक गैरसरकारी संस्थाले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लाको सर्वाधिक बिकट हिमाली गाउँपालिकामा करिब ७ लाख रुपैयाँ बराबर र बुढिगंगा नगरपालिकालाई पाँच लाख रुपैयाँ बराबरको स्वास्य सामग्री वितरण गरेको हो ।
उत्तरपूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकालाई मंगलबार मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) धनगढीले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पीपीई सेट लगायतका उपकरण तथा स्वास्थ्य सामग्रीहरु साइन नेपालले हिमाली गाउँपालिकालाई प्रदान गरेको हो ।
कन्सेन्ट्रेटरले अक्सिजनको कमी भएका बिरामीहरुका लागि उपचारमा निकै सहज हुने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । त्यसैगरी सोमबार दिउँसो एक कार्यक्रमबीच साइन नेपालले बुढिगंगा नगरपालिकालाई कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पीपीई सेट लगायतका उपकरण तथा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाहले जानकारी गराए ।
एक थान अक्सिजन भर्न धनगडी नेपालगञ्ज पठाउने पर्ने बाध्यता रहेको अवस्थामा यी सामग्री पाउँदा बिरामीको उपचार गर्न सहज हुने नगरप्रमुख शाहले बताए । बाजुराका स्थानीय वासिन्दाको स्वास्थ्य सुरक्षा अवस्थालाई मध्यनजर गर्दै संक्रमित व्यक्तिहरुलाई उपचारमा सहज हुने विश्वासका साथ स्वास्थ्य उपकरणलगायत विभिन्न स्वास्थ्य सामग्री स्थानीय पालिकालाई सहयोग गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए ।
जिल्लाका बस्ती स्तरमा पुुगेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेपछि साइन नेपाललाई बुुढिगंगा नगरपालिका प्रमुख शाहले धन्यवाद दिएका छन् ।
अक्सिजनको कमी भएका बिरामीहरुका लागि कन्सेन्ट्रेटरले उपचारलाई निकै सहज हुने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सामग्री सहयोग निकै उपयोगी हुने विश्वास लिएको पनि उनले दोहोर्याए ।
गाउँपालिकालाई विभिन्न व्यक्ति र संघ संस्थाहरुले स्वास्थ्य सामग्री र प्रविधियुक्त सामग्री सहयोग गर्दै आएको अध्यक्ष मल्लले भने । साइन नेपाल धनगढीले केही हप्ता अगाडि जिल्ला प्रहरी कार्यालय बाजुरालाई १२ थान कम्प्युटर तथा प्रिन्ट सहयोग गरेको थियो ।
त्यसैगरी गत वर्षको बाढीपहिरो पीडित चार सय परिवारलाई खाद्यान्न कपडा तथा भाँडा राहत सहयोग दिएको थियो । त्यसैगरी डोटी जिल्लामा पनि उक्त संस्थाले स्वास्थ्य सुरक्षा सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।