arrow

मेलम्ची खानेपानी : यांग्री र लार्के खोलामा, तत्काल काम थाल्न प्रधानमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
kp-malamchi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामासमेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ ।

यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुनजाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएका छन् ।

राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो । प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न  करिब १० दिन, परिक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिनगरी करिब एक महिना समय लाग्ने छ ।

त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिए । ’वर्षा सुरु भएपछि करिब चार करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिन्छ’, बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ