arrow

पृथ्वीसुब्बाले पाएनन् विश्वासको मत, मनाङे गएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
Prithvi-Subba-Gurung-.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मतका लागि गुरुङले राखेको प्रस्तावउपर प्रदेशसभाको बिहीबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरेका हुन् । विश्वास प्राप्त गर्न गुरुङलाई ३१ मत आवश्यक थियो । तर उनले जम्मा २७ मत पाएका छन् । उनको विपक्षमा ३० मत परेको छ । 

यस्तै मत दिन्न भन्ने वा तटस्थमा एक मत परेको छ । दीपक मनाङे सहभागी भएनन् । दीपक मनाङेले संसद विघटनको विपक्षमा आफू रहेको र जसको सरकार बन्ने अवस्था आउँछ उसैलाई साथ दिने पक्षमा रहेको बताउँदै आएका थिए । उनी मुख्यमन्त्री गुरुङको मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्री थिए। मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने लगभग पक्का भएको भन्दै दीपक मनाङे पनि साथ दिएनन् । 

 संसद्मा जम्मा ५८ सांसद उपस्थित थिए । प्रतिपक्षमा रहेका काँग्रेस, माओवादी केन्द्र जसपा लगायतका सांसदले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिएनन् । 

गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । यो अंकगणित अनुसार सरकारका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अहिले संसद्मा एमालेका २७, काँग्रेसका १३, माओवादी केन्द्रका १२ र जसपाका दुई, राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । एक जना स्वतन्त्र हैसियतमा छन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको जानकारी सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई दिनेछन् ।  संसद्बाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङले अब स्वतः पदमुक्त भएका छन् ।

उनलाई काम चलाऊ मुख्यमन्त्री तोकेर प्रदेश प्रमुखद्वारा सांसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान हुनेछ । काँग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक सरकार गृहकार्यमा लागेका छन् । 

बहुमतको आधारसहित आजै उनीहरूले प्रदेश प्रमुखसमक्ष जाने तयारी भइरहेको छ । विपक्षीहरूले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रूपमा अघि सारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ