arrow

मन्त्री बनेपछि पहिलो सम्बोधनमा बादल पत्नी नैनकलाले के भनिन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
nainakala-thapa.jpg

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गरैकी छन् । मन्त्रालयमा बिहिवार पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन् ।
    
एकार्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । उनले पूर्वसञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 
    
उनले सरकार र सरकारका योजना सफल बनाउँदै नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकाङ्क्षा लिइएको बताउँदै भनिन्, “बिहिवारको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।”  
     
रुपन्देही जिल्लामा जन्मिकी मन्त्री थापा हाल चितवनमा बस्दै आएकी छन् । नैनकला थापा नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी हुन् । 

 पूर्वशिक्षिका थापा संगठित हुँदै २०३५-०३६ को विद्यार्थी आन्दोलनमा सहभागी भएकी थिइन् । विसं २०३८ मा नेकपा (चौम) पार्टी सदस्य र अनेमसंघका जिल्ला सचिव, २०४२ मा अनेमसंघका केन्द्रीय महासचिव, २०४७ मा अनेमसंघका केन्द्रीय संयोजक हुँदै २०५० सालमा एकीकृत अनेमसंघका केन्द्रीय महासचिव भएकी थिइन् । 

विसं २०६४–२०६८ सम्म राष्ट्रिय महिला आयोगका अध्यक्ष भएका थापा तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार पनि थिइन् । उनी पछिल्लो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिलासम्बन्धी विज्ञ समूहका सदस्यको रुपमा काम गर्दै आएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ