arrow

गण्डकीमा नयाँ सरकारका लागि २४ घण्टा समय, विपक्षी गठबन्धनको सरकार बन्ने पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिइएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रवार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र नयाँ सरकारका लागि आह्वान गरेकी हुन् । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका थिए । संसद सचिवालयले त्यसको जानकारी औपचारिकरुपमा आज शुक्रवार मात्र प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।

संसद सचिवालयको पत्र प्राप्त भए लगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । जसअनुसार शनिवार दिउँसो ३ बजेसम्म नयाँ सरकारको दाबी गर्न सकिने छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । यसमा काँग्रेस, माओवादी, जनमोर्चा र जसपाले काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा यस अघि नै प्रस्ताव गरिसकेका छन् । 

सांसद दीपक मनाङेले साथ दिएमा र सरकारी पक्षबाट विफल बनाउने प्रयास नभए हालको विपक्षी गठबन्धनको सरकार बन्ने पक्कापक्की छ ।

यस्तै, शुक्रवारको प्रदेशसभा बैठकले जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि पदमुक्त भएको सूचना दिएको छ । थापाको पद गएपछि गण्डकीमा सांसद सङ्ख्या ५९ कायम भएको छ । ५९ सांसद कायम भएपछि बहुमतको लागि सरकार बनाउन ३० सांसद भए पुग्छ । विपक्षीसँग ३१ सांसदको हस्ताक्षर छ ।

यो प्रक्रिया अनुसार सरकार बने फेरि ३० दिनभित्र मुख्यमन्त्रीले उपधारा ६ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके वा सरकार बन्न नसके उपधारा ७ बमोजिम प्रदेश संसद विघटन गर्ने बाटो खुल्नेछ र गण्डकी पनि मध्यावधि निर्वाचनतर्फ उन्मुख हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ