arrow

अन्तिम कसरत

ठाकुर र महतोले जसपामा बहुमत जुटाउन नसके असार २२ पछि राजपा ब्युँताउने

कार्यकारिणीमा बहुमत जुटाउन अन्तिम प्रयास

logo
आकाश शर्मा,
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
rajapa_photo.jpg
फाइल तस्बिर

काठमाडौँ। कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोले ठुलै प्रयास गरेका छन्। कार्यकारिणीमा बहुमत पुर्‍याएर डकुमेन्ट निर्वाचन आयोगमा बुझाउने उनीहरूको तयारी छ। असार २३ गते आयोगले भने अनुसार ठाकुर पक्षले डकुमेन्ट बुझाउन ७ दिनको समय मागेको थियो। ७ दिनको समय आइतबारबाट सकिँदै छ।

यसअघि, जसपाको ठाकुर र उपेन्द्र यादव दुवै पक्षले निर्वाचन आयोगमा चिठी लेखेर एकले अर्कोलाई पार्टीबाट निकालेको जानकारी गराएका थिए। त्यसको लगत्तै आयोगले दुवै पक्षले लेखेको चिठी ढाँचा नमिलेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७४को अनुसूची १८ बमोजिम ढाँचा पुर्‍याएर दस्ताबेज बुझाउन निर्देशन गरेको थियो। त्यसको भोलिपल्टै उपेन्द्र यादव पक्षले अनुसूची १८ बमोजिम आयोगलाई चिठी पठायो। तर ठाकुर पक्षले अहिलेसम्म आयोगमा चिठी पठाएको छैन।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ठाकुर पक्षबाट राजनीतिक दल सम्बन्धी ऐन २०७४को अनुसूची १८ बमोजिम ढाँचा पुर्‍याएर चिठी नआएको बताए। 

ठाकुर पक्षले आयोगमा चिठी नपठाउनुको मुख्य कारण हो, कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसक्नु। ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जना भन्दा बढी सदस्य उपेन्द्र यादव पक्षमा पुगेका छन्। ठाकुरको पक्षमा २० जनाको हाराहारीमा मात्र कार्यकारिणी सदस्य रहेको बताइन्छ। ठाकुर पक्षका ६ जना कार्यकारिणी समितिका सदस्य महेन्द्र यादव, रमेश यादव, गजाधार यादव, मृगेन्द्र कुमार सिंह, नबल किशोर साह र रामनरेश राय यादव उपेन्द्र यादव पक्षमा पुगे पछि कार्यकारिणी समितिमा यादव बहुमतमा पुगेका हुन्।

यता, ठाकुर पक्षले उपेन्द्र यादव पक्षका ५ जना सांसदलाई आफूतिर ल्याए झैँ त्यति नै सङ्ख्यामा कार्यकारिणी सदस्यहरूलाई आफूतिर ल्याउन प्रयास गरेको छ। यसकोलागि ठाकुर र महतो सक्रिय भएका छन्। यादव पक्षबाट ठाकुर पक्षमा गएका ५ जना सांसद कार्यकारिणी समितिका सदस्य होइनन्।

स्रोतका अनुसार अहिलेसम्म ठाकुर पक्षले यादव पक्षका एक जना मात्र कार्यकारिणी समितिका सदस्यलाई आफूतिर ल्याउन सफल भएको छ। पूर्व समाजवादी पार्टीका नेता तथा जसपाका कार्यकारिणी सदस्य दानबहादुर विश्वकर्मालाई ठाकुर पक्षले आफूतिर ल्याएको स्रोतको भनाइ छ।

ठाकुर निकट स्रोतका अनुसार कार्यकारिणी समितिमा बहुमत जुटाउन नसके ठाकुर पक्षले पुरानो राष्ट्रिय जनता पार्टी ब्युँझाउने तयारी गरेको छ। पुरानो राजपा ब्युँझाउन असार २२सम्म पर्खनु पर्छ। पार्टी एकीकरण भए पछि पुरानो पार्टीको नामबाट एक वर्षसम्म आयोगमा पार्टी दर्ता गर्न नपाउने कानुनमा व्यवस्था छ। २०७७ असार २२ गते जसपा  गठन गरिएको औपचारिक जानकारी आयोगलाई गराइएको थियो।

त्यसैले असार २२ सम्म पुरानो राजपा दर्ता गर्न ठाकुर पक्षलाई कानुनी रूपमा मिल्दैन। त्यसैले असार २२ सम्म पर्खने, त्यस बेलासम्म जसपामा बहुमत जुटाउन नसके पुरानो राजपा ब्युँझाउने ठाकुर पक्षको तयारी छ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन ठाकुर पक्षले अनेक प्रलोभन देखाएको यादव पक्षका नेताहरूको भनाइ छ। यादव पक्षबाट ठाकुर पक्षमा गएका ५ जना सांसद मध्ये ३ जना सांसद उमाशङ्कर अरगरैया, विमल श्रीवास्तब र रेणुका गुरुङलाई ठाकुरले मन्त्री नै बनाएका छन्। बाँकी दुई जना सांसद रुही नाथ र कल्लुदेवी विश्वकर्मालाई पनि ‘खुसी बनाएको’ ठाकुर पक्षको भनाइ छ। यी दुई सांसदलाई ठाकुर पक्षले कसरी खुसी बनायो, यसबारेमा भने ठाकुर पक्षका नेताहरू खुलाउँदैनन्।

यादव पक्षमा जान सक्ने डरले राज किशोर यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन्। मन्त्री नभए राज किशोर आफू र आफू निकट सदस्यहरूलाई लिएर यादव पक्षमा जाने तयारी गरेका थिए। ठाकुर पक्षले ओलीसँग ८ वटा मन्त्रालयमा सहमति गरेको थियो तर ओलीले सहमति भन्दा पनि बढी मन्त्रालय ठाकुर पक्षलाई दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ