- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हामीले भान्सामा प्रयोग गर्ने खुर्सानीको उत्पत्ति मध्यअमेरिकाबाट भएको हो । नेपालमा पनि २०–२५ प्रजातिका खुर्सानी उत्पादन गरिने गरेको पाइन्छ । त्यसमध्ये नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो अकबरे खुर्सानी । यो खुर्सानी संसारका अन्य देशहरुमा नपाइने तथा यदाकदा पाइहाले पनि नेपालको जस्तो स्वादिलो र पिरो भने पाइँदैन । नेपालको पनि अक्सर पूर्वी नेपाल (इलाम, धनकुटा) तिरमात्र अकबरे खुर्सानी पाइन्छ । हाल आएर नेपालको पश्चिमी क्षेत्रमा पनि यसको खेती गर्न थालिएको छ ।
पूर्वी नेपालमा पाइने ६–७ प्रजातिका अकबरे खुर्सानीमध्ये आकार र रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानो गोलो, लाम्चो (बास्नादार), तथा चिप्लो डल्लो (पिरो नहुने) र पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरुमा अकबरे खुर्सानी पाइन्छ । जसमध्ये ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मन पराउने जात हो । यो खुर्सानीलाई डल्ले र ज्यानमारा खोर्सानी भनेर पनि चिन्ने गरिन्छ । यो आवश्यकताभन्दा बढी खाएमा ज्यानसमेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो ।
माटोः
सामान्यतया सबै किसिमको माटो उपयुक्त भए पनि पानी नजम्ने राम्रो निकास भएको मलिलो हल्का दोमट तथा केही चिम्टाईलो माटोसमेत उपयुक्त हुन्छ । माटोमा प्रशस्त प्राङ्गारिक मल मिसिनुका साथै माटोको पि.एच. ६–७ सम्म हुनु पर्दछ । भिरालो तथा नयाँ पाँगो माटो अकबरे खुर्सानीको लागि उपयुक्त मानिन्छ ।
नर्सरी व्यवस्थापनः
वर्षमा २ पटक नर्सरी राख्न सकिन्छ अगौटे (असोज, कार्तिक) र पछौटे (माघ, फागुन)) । अकबरे खुर्सानीको ब्याड राख्दा राम्रो र नयाँ बोटबाट राम्रा फलहरु छनौट गर्ने र राम्ररी सुकाई दल निकाली असोज–मंसिर सम्ममा प्लाष्टिक टनेल बनाई राख्नुपर्छ ।
जमीनको तयारीः
जमीनको छनौट गर्दा पानी नजम्ने ठाउँको माटोलाई ३–४ पटक जोतखन गरी माटो बुरबुराउँदो बनाउनु पर्दछ । त्यसपछि एकभाग जङ्गलको माटो, एकभाग पाकेको गोबरमल र एकभाग बालुवा चिम्टाईलो माटोमा मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुने गरी (वर्षादमा १० ईन्च र हिउँदमा ६ इन्चको उचाई हुने गरी डयाङ्ग बनाउने । नर्सरीमा बीउ रोप्नुअघि निम्न अनुसार मल तथा औषधि प्रयोग गर्नुपर्छ । एक रोपनी जमीनको लागि जम्मा ६ वर्गमिटरको नर्सरीको आवश्यक पर्छ । माटो उपचार गर्न फ्युराडन वा डर्सवान २५ ग्राम, डीएपी २०० ग्राम, पोटास १०० ग्राम, कृषि चुन १०० ग्राम माटोमा राम्ररी मिसाई १–२ दिन जति सुकेको परालले छोपी सिंचाई गर्नुपर्छ ।
बीउको मात्राः
एक रोपनी जग्गाको लागि १० ग्राम बीउ चाहिन्छ । उक्त बीउबाट १५०० जति बिरुवा उम्रे पनि १२०० बिरुवा जति मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्टिक टनेलको व्यवस्था गर्नुपर्छ ।
बीउ छर्ने र बेर्ना उमार्ने तरिकाः
बीउ छर्ने र बेर्ना उमार्ने तरिकाको तयारी जमीनमा चौडाइ पट्टिबाट ४ ईन्चको फरकमा लाइन कोरी आधा ईन्च गहिरो कुलेसो बगाई १ ईन्च फरकमा १–१ दाना बीउ खसाल्ने । उक्त बीउ हल्का बालुवा, खरानी वा जङ्गलको माटोले छोपी सुकेको पराल, झारले छोप्ने र माटोको अवस्था हेरी सिँचाई गर्ने ।
तर बढी चिसोपन भएमा बीउहरु कुहिने हुँदा पानी जम्न दिनु हुँदैन । बिरुवा उम्रिएपछि छापो झिकिदिने र हरेक सात दिनको फरकमा आवश्यकता अनुसार ढुसीनाशक किटनाशक विषादी छर्ने ।
यसरी बिरुवा अगौटे हो भने ३–४ महिना र पछौटे हो भने १–२ महिनामा बेर्ना तयार हुन्छ । यदि बेर्ना कमजोर पहेंलो भएमा बेर्नामा नै भिटामिन, मल्टिप्लेक्स, भेजिमेक्स आदि लगायत युरिया २ ग्राम प्रति लिटर पानीमा स्प्रे गर्ने ।
बिरुवा लगाउने तरिकाः
राम्ररी खेत तयार गरिसकेपछि बहुवर्षीय रूपमा लाइनदेखि लाइनको दूरी ९० सेमी र बिरुवादेखि बिरुवाको दूरी ६० सेमी, वर्षेबाली ६० गुणा ६० र वषन्ते ६० गुणा ४५ सेमी कायम गरी प्रति बोटमा २ केजीसम्म कम्पोष्ट मल, ५ ग्राम डीएपी, पोटास, कृषि चुन र कीराको प्रकोप हुने भएमा केही किटनाशक विषादी राखी लगाउँदा राम्रो हुन्छ । अकबरे खुर्सानी लगाउँदा अरु खुर्सानीभन्दा पृथक दूरीमा लगाउनु पर्छ । नत्र भने परागसेचन भई गुणस्तरमा कमी आउँछ ।
यदि सीधै खेतमा मलखाद राखी खेती गर्ने हो भने प्रति रोपनी डीएपी १६ केजी, पोटास १० केजी, कृषि चुन १० केजी, गोबरमल ३० डोको, मल्टिप्लेक्ज २ केजी, युरिया ८ केजी र फ्युराडन–डर्सवान १ केजी चाहिन्छ । जसमध्ये डीएपी, पोटास र कृषि चुनलाई २ भाग गरी सबै गोडमेल फ्युराडन–डर्सवान आदि एकमुष्ठ माटोमा राख्ने बाँकी आधा भाग दानमल, पोटास, कृषिचुनसँग ८ केजी युरिया २ केजी, मल्टिप्लेक्सलाई ४ भाग गरी रोपेको १५ दिनको फरकमा ४ पटक प्रयोग गर्ने ।
जर्खरायको बिरुवा बेलुकीपख केही बइलाएपछिमात्र तयारी खाल्डोमा रोपेमा राम्रो हुन्छ । साथै जराहरु नखल्बलिने गरी राम्ररी थिचेर हिउँदमा वरीपरि सानो खाल्डोको आकार बनाइदिने यदि सुख्खा हुन्छ भने फेदमा सोत्तर परालको छापो दिनु राम्रो हुन्छ ।
सिँचाइ तथा गोडमेलः
आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनुपर्छ । रोप्ने बित्तिकै सिँचाई दिनुपर्छ । त्यसपछि १०–१५ दिनको फरकमा आवश्यकता अनुसार पानी दिनुपर्छ ।
अकबरे खुर्सानीलाई पानीको ज्यादै आवश्यकता पर्छ तर थोरै भए पुग्छ । फेदमा पानी जम्न दिनु हुँदैन किनभने ढुसी रोग लाग्ने हुँदा होसियारीपूर्वक पानी तर्काउने व्यवस्था मिलाउनु पर्छ ।
निकासको राम्रो व्यवस्था मिलाई वर्षादमा ६–१२ इन्चसम्म ड्याङ्गको उचाई राख्नुपर्छ । बिरुवा सारेको १०–१५ देखि २०–२५ दिनसम्म माटोको अवस्था हेरी खुकुलो पार्ने झारपात हटाउने र गोडाईको हरेक टिपाई पछि गर्नै पर्छ ।
रैटुनवाली (बहुवर्षीय( लिने हो भने प्रशस्त गोडमेल प्रयोग गर्ने काँटछाँट गर्ने (बोटको तल्लो भागका बाक्ला, पहेंला, नचाहिने मुना हटाइ दिने) र पहिलो वर्षको फल टिपेपछि बोटलाई गोडमेल गर्ने र हिउँदमा तुषारोबाट जोगाउन पराल आदिको छाप्रो दिने यसरी काँटछाट गोडमेल गरी अर्को सालको फल चाँडै लिन सकिन्छ । यस्तो बाली लिन उच्च र मध्य पहाडमा सम्भव छ ।
फल टिप्नेः
खुर्सानीको फल टिप्ने एकै पटक परिपक्व नहुने भएकोले फल टिप्न शुरु गरेपछि २–४ महिनासम्म लगातार टिपिरहन सकिन्छ । एकपटक टिपिसकेपछि कम्तिमा १०–१५ दिनसम्म पुनः फल टिप्नु हुँदैन र फेरि तयार हुन्छ ।
अकबरेको हकमा प्रति रोपनी ५०० देखि ८०० किग्राउत्पादन हुन्छ र प्रति केजी २००–३५० सम्ममा बिक्री हुने गरेको पाइएको छ । प्रति रोपनी ३००० देखि ७००० लगानी गर्दा १ लाखदेखि ३ लाखसम्म लिन सकिने देखिन्छ ।
बजार व्यवस्थापनः
खुर्सानी ठीकसँग समयमै टिपेर लामो दूरीमा पठाउन चोया वा प्लाष्टिकको क्रेट वा टोकरीमा राखी पठाउन एक बास्केटमा २०–३० केजी भन्दा बढी नराखी पठाउनु पर्छ । ज्यादा पाकेको र चिसो मिसाउनु हुँदैन ।
मूल्य निर्धारण समयअनुसार फरक हुने भए पनि बैशाख, जेठ र असोज कार्तिक महिनामा बढी मूल्यमा किनबेच भएको पाइन्छ । अकबरे खुर्सानीको सुकेको भन्दा पाकेको तर न सुकाएकोले राम्रो बजार मुल्य पाउँछ । हरियो काँचो फलमा भन्दा पाकेको रातो फलमा पौष्टिक तत्वहरु बढी प्राप्त गर्न सकिन्छ ।
उपयोगः
अकबरे वा राङ्गे खुर्सानी पहिले मङ्गोल जातिका मानिसहरुले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरुले पनि खाने गरेका छन् ।
अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधिको रुपमा प्रयोग गरेको पाइन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ । अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुची हुने र थकाइ समेत मेट्ने गरेको पनि उपयोग गर्नेहरुबाट व्यक्त गरेको पाइन्छ ।
पाकेको अकबरे खुर्सानीलाई हल्का हल्का सुकाई तोरीको तेल वा पकाएको खाने नून वा भिनेगरमा डुबाएर टाइट बिर्को लगाई राखेमा दुई वर्षसम्म खान सकिन्छ । साथै विभिन्न अचार उद्योगहरुले समेत अकबरेको पेष्ट बनाई प्रयोग गर्ने क्रम शुरु भएको छ । (लामिछाने गौरादह कृषि क्याम्पसमा बीएससीएजी अध्ययनरत छन् )