arrow

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
kpfinal.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आइतबार भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तिव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।

कोभिड १९ सिर्जित विकट परिस्थितिले यस कार्यमा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए ।  ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उनको भनाई थियो ।

अचानक बढेको उच्चमागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय सैय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

महामारीका समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निश्कर्षमा सरकारका पुगेको जानकारी पनि ओलीले दिए ।

दोस्रो लहर उचाइमा चढिरेहको बेला लिक्वीड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास सह्रानीय एवं देश प्रति उत्तरदायी भावनायुक्त भएको पनि प्रधानमन्त्रीले बताए । 

यसका साथै प्रधानमन्त्रीले कोरोना महामारीबाट अविभावक विहिन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी पनि उनले दिए ।  ‘यसबारे अध्ययन हँदैछ र त्यस अनुसार आवश्यक कदम चालिनेछ’, उनले भने ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुृट लगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि ओलीले दिए । 

आगामी दिनमा कोभिड १९ को महामारी हटिसके पछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने बताउँदै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने समेत बताए ।

 अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने भनाई पनि प्रधानमन्त्रीको थियो  । छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढने समेत प्रधानमन्त्रीले उल्लेख गरे । 

रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्ट बाट प्रतिदिन कुल ६० मेिट्रक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ