arrow

‘यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टका गतिविधि पारदर्शी छन् हिसाबकिताब हेरे हुन्छ’ – केसी

logo
हाम्राकुरा सम्वाददाता, 
प्रकाशित २०७८ असार १ मंगलबार
arjun-narasingh-kc.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीका बेलामा नागरिकमा कमभन्दा कम क्षति होस् भन्ने उद्धेश्य जुनसुकै नेताको मनमा हुनुपर्छ । किनकि जनता रहेमात्र नेता रहन्छ । त्यसैले त जनमुखी नेताहरु कोरोनाका बेलामा हरसम्भवको सहयोगका लागि निरन्तर जुटिरहेका छन् । जुट्नु पनि पर्छ । त्यो उनीहरुको कर्तव्य नै हो । 

तर कहिलेकाहिँ सहयोग कार्यक्रममा असर पुग्ने गरी अफबाह फैलिन्छ तब भने त्यसले नयाँ मोड लिन्छ । अनि जो सहयोगी हात भएर अगाडि बढिरहेको हुन्छ उसले नै स्पष्टीकरण दिनुपर्ने हुन्छ । नभन्दै त्यस्तै भएको छ नुवाकोटमा । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा यशोदा देवी भगवान सिंह केसी ट्रष्टका संरक्षक अर्जुननरसिंह केसी परिवारको यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले विभिन्न दाताबाट प्राप्त सहयोगसहित विभिन्न पालिकामा कोरोना महामारी परास्त गर्ने स्वास्थ्य सामग्री लगायतका सहयोग रकम वितरण गर्यो । 

दाताबाट आएका सामग्री र आफूहरुको प्रयासबाटसमेत गरी स्वास्थ्य सामग्रीहरु सम्बन्धित निकायमा पुर्याइएको भए पनि उक्त सहयोगलाई प्रभावित पार्ने गरी बन्ने समाचार र सन्देशका कारण केसी दाजुभाइ अनावश्यक विवादमा त तानिए नै स्पष्टीकरणसमेत दिनु परेको छ । 

दाताले समेत प्रश्न उठाएर आफै अनुसन्धान गरेपछि आफूहरु सही रहेछौं अब कसैले छानबिन गर्ने आवश्यकता नभएकोसमेत भन्नु परेको छ । 

नेता केसीले भने, ‘कोरोना महामारीका बेलामा सरकारको उपस्थिति न्यूनजस्तै देखिएका बेलामा आफ्नो कर्तव्य सम्झेर हामी सदैव सहयोग गरिराखेका छौं । सबैले नै यसरी सहयोगी भावना राख्नुपर्ने बेलामा हाम्रो कामबाट आफूहरु छायाँमा परेको ठान्नेहरुले खुट्टा तान्ने प्रयास मात्र गरेका हुन् ।’ उनले थप स्पष्ट पार्दै हाम्राकुरासँग भने, ‘ट्रष्टमार्फत हाम्रो सहयोग जारी रहन्छ । किनकि हाम्रा आमाबुबाको नाममा खुलेको ट्रष्टमार्फत हामी दाजुभाइले मिलेर सहयोग गरिरहेका छौं । हामी इमानपूर्वक लागेका छौं । यो निरन्तर चलिरहन्छ ।’

नेता केसीले अगाडि भने, ‘हामी विपद्का बेलामा राजनीति हेर्दैनौं जुनसुकै दल विशेषको किन नहोस् पहिले पीडित नेपाली हो । नेपालीको सेवा गर्नु अर्को नेपालीको धर्म हो । म अनावश्यक आलोचना गर्ने साथीहरुलाई पनि भन्न चाहन्छु आउनुस् तपाई पनि सक्दो सहयोग गर्नुस् ।’

ट्रष्टका महासचिव एवं नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले हाम्राकुरासँग भने, ‘हामीले चार दिन अगाडि केही गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थियौं । त्यसमा प्रश्न उठाइयो । अर्जुन दाइले ट्वीटरमा एक अक्षर कम गरौं भनेर मार्फत लेख्नुपर्नेमा बाट लेख्नु भएछ अनि त्यसमा राजनीति गर्न खोजियो । अमेरिका नेपाल  मेडिकल फाउन्डेशनले दुई वटा अक्सिजन कन्सन्ट्रेटर जहाँ दिन भनेको थियो त्यहीँ दियौं ट्रष्ट मार्फत । तर मार्फत नअटेर बाट लेखेकाले त्यो कुरो दातासम्म पुग्यो । फाउन्डेशनले पनि घोटाला भयो कि भनी बुझेछ । समाचार पनि स्थानीय अनलाइनले घोटाला भएको भनी बनाएछ । फाउन्डेशनलाई हामीले स्पष्ट पार्यौं । यसमा केदार दाइ (ट्रष्टका अध्यक्ष एवं नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी) ले लेखिसक्नु भएको थियो । मेडिकल फाउन्डेशनले जहाँको लागि दियौं त्यो सम्बन्धित गाउँमा पुग्यो कसैले पनि चासो लिइरहनु परेन भनेर ट्वीटरमै रिट्वीट गर्यो । अब विवाद सकियो ।’

ट्रष्टको विश्वसनीयता र पारदर्शी सम्बन्धमा कुनै प्रश्न नउब्जाउन आग्रह गर्दै महासचिव केसीले आफ्नो ट्रष्टले हरेक आर्थिक वर्षमा अडिट गरेको जनाएका छन् । उनले ट्रष्टको पारदर्शीबारे स्पष्ट पार्दै भने, ‘जसले इच्छा गर्नुहुन्छ उहाँहरुका अगाडि लेखापरीक्षण गर्न तयार छौं । उहाँहरुलाई आग्रह पनि गर्दछौं लेखापरीक्षण गर्दाखेरी तपाई पनि सँगसँगै हुनुभयो भने संस्था आभारी हुने थियो ।’ 

उनी भन्छन्, ‘ट्रष्टका सम्पूर्ण गतिविधि पारदर्शी भएकाले कसैलाई केही बुझ्नु छ भने जुनसुकै बेला हिसाबकिताब हेरे हुन्छ भन्छन् । गतिविधिबारे कसैलाई केही बुझ्नुछ भने जुनसुकै बेला हिसाबकिताब हेरे हुन्छ ।’
 

के के दियो ट्रष्टले 
ट्रष्टले विभिन्न पालिकालाई दाता र आफ्नो प्रयासबाटसमेत गरी कोरोना विरुद्ध लड्नका लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । महासचिव केसीले सामाजिक संजालमै लेखेका छन्, ‘यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टको तर्फबाट नुवाकोटका बेलकोटगढी नगरपालिका साविक मदानपुर (बेलकोटगढी १२  र १३ ) कुमरी, बेलकोट, जिलिङ, रातमटे, दुईपिपल र सूर्यगढी गाउँपालिकाका  तादिगाउँपालिकाको उर्लेनी, दुप्चेश्वरको वडान २ क्षेपार लगायत  विभिन्न ११ वटा वडामा सम्बन्धित वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थामा रहने गरी एक एक वटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरियो ।’

उनले अगाडि लेखेका छन्, ‘जनता सङ्कटमा परेको बेला राजनीतिभन्दा माथि उठेर आफ्नो अर्को नहेरी हामी मानवीय सेवामा तल्लीन छौँ । र, निरन्तर तल्लीन रहने छौँ । देश विदेशमा रहेर हाम्रो यो अभियानमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद दिन चाहन्छौं ।’

त्यस्तै नेता अर्जुननरसिंह केसीले सोमबार वितरण गरेको सामग्रीबारे लेखेका छन्, ‘यशोदादेवी भगवान सिंह केसी मेरोरियल ट्रष्टले यसअघि नुवाकोटका १२ स्वास्थ्य संस्थामध्ये २ एएनएमएफ युएस (अमेरिका नेपाल  मेडिकल फाउन्डेशन अमेरिका) मार्फत र आज (जेठ ३१) मा हामीले अन्य ११ स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरियो । सहयोग जुटाउनु हुने सम्पूर्ण संस्था र साथीहरुमा कृतज्ञतापूर्वक नमन ।’

यसअघि फेसबुकमार्फत ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले १० जुनमा फेसबुकमा लेखेका थिए, ‘ट्रष्टमार्फत नुवाकोटको मेघाङ गाउँपालिका (देउराली स्वास्थ्य केन्द्र), किम्ताङ गाउँपालिका र तारकेश्वर गाउँपालिकालाई ३–३ वटा अक्सिजन कन्सन्ट्रेटर र दुई हजारका दरले मास्क, केही स्यानिटाइजर उपलब्ध गरियो ।’

उनले अगाडि लेखेका थिए, ‘त्रिशुली अस्पताललाई आईसीयू निर्माण भएपछि २ वटा आईसीयू बेड उपलब्ध गराउने चिठी हस्तान्तरण गरियो । यस कार्यक्रममा सहयोग गर्नुहुने क्यालिफोर्निया निवासी श्री धनन्जय नरसिंह केसी, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, अमेरिकन मेडिकल फाउन्डेशनका डा. भुपेन्द्र बस्नेत, महानगरपालिकाका वडा ३ अध्यक्ष दीपक केसी पनि धन्यवादका पात्र छन् । आगामी दिनमा पनि सहयोग निरन्तर हुनेछ ।’

डा. केसीले ८ जुनमा फेसबुकमार्फत जानकारी गराएका थिए कि ‘ट्रष्टले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका अन्तर्गत राउतबेसी, समुन्द्रटार, घ्याङफेदी स्वास्थ्य संस्थालाई एक एक वटा अक्सिजन कन्सन्ट्रेटर, पीपीई, एन–९५ उपलब्ध गराएको छ । शिखरबेसी हेपोलाई २ वर्ष अगाडि नै उपलब्ध गराइसकिएको थियो ।’ उनले अगाडि लेखेका छन्, ‘उक्त कन्सन्ट्रेटर उपलब्ध गराउन सहयोग गर्ने नेपाल अमेरिकान मेडिकल फाउन्डेशनलाई हार्दिक धन्यवाद प्रकट गर्दछु । र आगामी दिनहरुमा सबै गाउँपालिकामा पुग्ने लक्ष्य राखिएको छ ।’

यसरी सबै सहयोगको सबै जानकारी केसी दाजुभाइले सम्प्रेषण गरेका थिए । तर यति हुँदाहुँदै पनि आफूहरुमाथि शंकाको दृष्टिले हेरिनु दुर्भाग्य भएको ट्रष्टका महासचिव केसीले बताएका छन् । 

उनले फेसबकुमार्फत नै लेखेका पनि छन्, ‘पत्रकारिताको खोल ओढेर गरिएको दुषित राजनीति र दुषित राजनीतिका लागि गरिएको पत्रकारिताले फैलाउने झुट र भ्रमका विकृत होहल्लाको पछि लाग्ने फुर्सद हामीसँग छैन । अहिलेलाई हामी सामाजिक काममै लागिरहन्छौँ । अकालमा मर्नबाट मानिसको जीवन बचाउनु छ । आउनुस्, तपाईं पनि यो अभियानमा सरिक हुनुहोस् ।’ 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ