arrow

देशभर मनसुनी वायुको असर, शनिबारसम्म भारी वर्ष, कहाँ कहाँ छ खतरा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
badhi-sindhupalchowk-melamc.jpg
तस्वीर– सिन्धुपाल्चोकस्थित मेलम्चीमा आएको बाढी, रासस ।

काठमाडौं । देशभर अहिले मनसुनी वायुको असर परिरहेको छ । गत जेठ २८ गतेदेखि शुरु भएको मनसुनको छोटो समयमै केहीको ज्यान गइसकेको छ । केही बेपत्ता छन् भने सयौं परिवार विस्थापित भएका छन् । ३२ जिल्लामा बाढी पहिरो गएको छ । 

लगातारको वर्षा शनिबारसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो असरले गर्दा बिहीबार कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केही स–साना सहायक नदीमा क्षणिक, मध्यम–भारी बर्षा भई बहाब बढ्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । 

त्यस्तै केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक–दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

महाशाखाले शनिबारसम्मै भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केही भू–भागमा मेघगर्जन–चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ