arrow

डिआइजी सरुवा अन्तिम चरणमा, क-कसले पाउँदैछन् महत्त्वपूर्ण जिम्मेवारी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
nepal-police12.jpg

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरूको सरुवाको  तयारी अन्तिम चरणमा पुर्‍याएको छ । लामो समय देखि डिआइजीहरूको सरुवा हुन सकेको थिएन । चुनाव हुने चर्चासँगै महत्त्वपूर्ण ठाँउहरूमा डिआइजीहरूको सरुवा हुन लागेको हो । 

डिआइजीहरूको सरुवा मन्त्री स्तरीय निर्णयबाट हुने हुँदा प्रहरी प्रधान कार्यालयले डिआइजी सरुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ । यद्यपि कतिपय नामहरूमा भने अझै टुङ्गो लाग्न नसकेको स्रोतको दाबी छ ।

गृहमन्त्रीमा खगराज अधिकारी आएसँगै सरकारले निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशसहित सीआइबी, अख्तियार, विशेष ब्युरो, साइबर ब्युरो लगायतका महत्त्वपूर्ण ठाँउहरूमा डिआइजीहरूको सरुवा गर्न लागेको हो । 

प्रहरी प्रधान कार्यालयले मन्त्री स्तरीय निर्णयबाट हुने सरुवाका लागि डिआइजीहरूको नाम सिफारिस गरेर गृहमा पठाइसकेको छ । तर ती कतिपय नामहरूमा भने प्रधानमन्त्री विश्वस्त हुन नसकेको कारण केही नामहरू परिवर्तन हुन सक्ने स्रोतको दाबी छ । 

स्रोतका अनुसार गृहमा प्रधान कार्यालयले पठाएको पत्रमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डिआइजी सहकुलबहादुर थापालाई लुम्बिनी प्रदेशमा सिफारिस गरिएको छ । 

यस्तै सीआईबीमा धिरज प्रताप सिंह, मुकुन्द आचार्य, वसन्त लामाको नाम चर्चामा छ ।  यसैगरी सीआईबीमा उत्तम सुवेदी,  र रवीन्द्र धानुकले पनि इच्छा देखाउँदै आइरहेका छन् । 

तर गृहमन्त्री अधिकारीले डिआइजी आचार्य र सिंह मध्ये एकलाई ल्याउन चाहेको स्रोतको दाबी छ । एक जना सिआइवीमा आउँदा अर्का डिआइजी महानगरीय प्रहरी कार्यालय रानीपोखरी ल्याइने छ ।

त्यस्तै हाल लुम्बिनी प्रदेशमा रहेका डिआइजी रवीन्द्र धानुकलाई विशेष ब्युरोका लागि सिफारिस गरिएको छ ।  
यसैगरी प्रदेश १ मा अरुण बिसीलाई  पठाउने तयारी भइरहेको छ । हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । 

यस्तै प्रदेश २ मा डिआइजी दिवेश लोहनीलाई पठाउने तयारी भइरहेको छ । उनी हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । 

यसैगरी बागमती प्रदेशमा  पुरुषोत्तम कँडेललाई पठाइने चर्चा छ । भने गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देवबहादुर बोहराको नाम पठाइएको छ । बागमतीमा प्रकाशजंग कार्कीको पनि चर्चा रहेको छ। 

कर्णाली प्रदेशका डिआइजी बसन्त पन्तलाई अख्तियारमा  ल्याउने तयारी छ । सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीलाई साइबर ब्युरोमा सिफारिस गरिएको छ । 

त्यस्तै १ नम्बरका डिआइजी ईश्वरबाबु कार्की, गण्डकी प्रदेशका घनश्याम अर्यालको पनि सरुवा सिफारिस गरिएको छ । प्रमखुबाट प्रमुखमा नै सरुवा नगर्ने भनिँदै आए पनि अहिलेको सिफारिसमा कतिपयले भने प्रमुखबाट पुनः प्रमुख कै जिम्मेवारी पाउने देखिन्छ । 

यसअघि गत वैशाखमा नै तत्कालीन गृहमन्त्री रामबहादुर थापालेसमेत डिआइजी सरुवा गर्न चाहेका थिए । तर कोरोना सङ्क्रमणका कारण रोकिएको थियो । त्यसपछि प्रधान कार्यालयले सरुवाको समय भए पनि चासो देखाएको थिएन । 
हाल नयाँ गृहमन्त्री आएसँगै प्रधान कार्यालय पनि सरुवामा सकारात्मक बनेको छ । तर केही नामहरूमा प्रधानमन्त्रीले चासो देखाएका छन् । चुनाव समेत नजिक आइरहेको अवस्थामा आफू अनुकूलका प्रहरी अधिकारीलाई प्रधानमन्त्रीले प्रदेशको जिम्मेवारी दिन चाहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ