arrow

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
krishna-chandra-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन मङ्गलवार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

पोखरेल संविधानको १६८ (५) अनुसार शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए । आगामी एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि पोखरेलले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित हुन चाहेका छन् ।

मन्त्रालय भागबन्डामा किचलो हुन सक्ने र गठबन्धन टुट्न सक्ने देखिएपछि उनले विश्वासको मत लिएर मात्र मन्त्रालय भागबन्डा गर्ने तयारी छ । विशेषगरि कुन मन्त्रालय कसले लिने भन्नेमा गण्डकीमा किचलो शुरु भएको छ । काँग्रेसलाई सत्तामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका दीपक मनाङेले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खोजेको बताइन्छ । यो मन्त्रालयमा माओवादी केन्द्र र जसपाको पनि दाबी छ । 

तर मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला मन्त्रालयमा आफ्नै पार्टीका नेतालाई बचाउने प्रयासमा छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् । उनलाई मुख्यमन्त्री बनाउन स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भूमिका महत्त्वपूर्ण रहेको छ । 

सांसद कृष्ण थापा पदमुक्त भएसँगै ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा पोखरेलले विश्वास लिन ३० मत आवश्यक पर्छ । 

उनको गठबन्धनमा काँग्रेस १५, माओवादी केन्द्र ११, जनमोर्चा दुई, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री पोखरेलको विपक्षमा नेकपा एमालेसँग २७ जना सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ