arrow

पूर्व सूचनाले जोगायो मेलम्चीका सयौं मानिसहरूको ज्यान

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ असार ३ बिहिबार
melamchi-badhi.jpg

काठमाडौं । पूर्व सूचनाका आधारमा समयमै मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिँदा मेलम्ची बजारका सयौं मानिसहरूको ज्यान जोगिएको छ ।मेलम्चीमा आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म क्षति पुर्‍याएको छ ।तर, मेलम्ची बजारतर्फ मानवीय क्षति शून्य भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए ।

समयमै सूचना पाउँदा सयौं मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्न सकेका कारण क्षति हुन नपाएको उनले बताए । बाढीले हेलम्बुदेखि मेलम्ची बजार तलसम्मका बस्ती सोहोर्दै लगेको छ ।

मेलम्ची बजारमा बाढी पस्नु अघि नै पाँचपोखरी गाउँपालिकाका अध्यक्षले आफूलाई फोन गरेर जानकारी दिएको मेलम्ची नगर प्रमुख अर्यालले बताए ।

‘समयमै मानिसहरूलाई सुरक्षित स्थानमा सारियो, नमान्नेहरूका लागि प्रहरी समेत परिचालन गरियो’, नगरप्रमुख अर्यालले भने । भौतिक क्षति मेलम्ची नगरपालिका बढी भएको उनले बताएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको भीषण बाढीले एकको मृत्यु भएको छ भने करिब सात जना बेपत्ता भएका छन् । बाढीले करोडौंको भौतिक क्षति पुर्‍याएको छ भने दजर्नाैं मानिस घरबार विहीन भएका छन् ।

भारी वर्षाका कारण आएको बाढीमा पानी र ढुंगामाटो भन्दा बढी हिलोको मात्रा देखिन्छ । हेलम्बु क्षेत्रमा पहिरो खसेर मेलम्ची खोला थुनिएपछि अचानक बाढी आएको हो । सो बाढीले हेलम्बुदेखि मेलम्ची बजारभन्दा तलसम्म मानवीय र भौतिक क्षति गरेको छ ।

बाढीमा हिलोको मात्रा अत्यधिक हुनुमा बलम्बु क्षेत्रमा पहिरो  गएको पहिलो एक कारण हुन सक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अरुण पोखरेलले बताए।बाढीले पहिरोबाट माटो बगाएर ल्याउँदा हिलो बढेको उनको भनाइ छ।

त्यस्तै अहिले वर्षा रोकिदा समेत पानीको सतह नघटेको उनले बताएका छन्। पानीको सतह नघट्नुको कारण, ‘बाढीले ससाना हिमतालहरू फुटाएर ल्याएको हो कि भन्ने आशङ्का हामीले गरेका छौ’, उनले भने।

०७२ को भूकम्पका बेला नै मेलम्ची माथिल्लो क्षेत्रको जमिन चर्किएको र अहिले भारी वर्षा हुँदा बाढीले चर्किएको क्षेत्रको माटोसहित बगाएर ल्याएको हुनसक्ने भूगर्भ विभागका भूगर्भविद् नारायण बास्कोटाको भनाइ छ। तर, अहिले हिमताल विस्फोट भएर बाढी बढेको भन्न नसकिने उनले बताएका छन्।

सिन्धुपाल्चोक क्षेत्रको माटोको स्वरूप कमजोर किसिमको रहेको अर्का भूगर्भविद् शिवकुमार बास्कोटा बताउँछन्। खास गरी यो क्षेत्रको धेरै जसो ठाउँमा बलौटे किसिमको माटो रहेको र यसलाई पानीले सहजै बगाएर लैजाने भूगर्भविद् बास्कोटाले बताए।

विकास निर्माणका कार्यहरू, घर भवन, रोड तथा ट्र्याक मार्गहरूको अव्यवस्थाका कारणले पनि यो सङ्कटापन्न अवस्था सिर्जना गरेको भूर्गभविद्हरुको भनाइ छ।

कहाँ भएको छ क्षति ?

मेलम्ची बजारसम्म आइपुग्दा मेलम्ची, यांग्री र लार्के तीन खोला मिसिएर इन्द्रावती नदी ठुलो भइसक्छ। मेलम्ची खोला चाहि हेलम्बु क्षेत्रबाट बगेर मेलम्ची बजार आइपुग्दा यांग्री र लार्के खोला मिसिएर बनेको इन्द्रावती नदीमा मिसिन्छ।

सिन्धुपाल्चोकका सिडिओ पोखरेलले मेलम्ची बजारभन्दा तल भौतिक क्षति बढी भएको बताएका छन्। त्यस्तै मेलम्ची बजार भन्दा माथि हेलम्बु क्षेत्रसम्म मानवीय क्षति बढी भएको छ। 

हेलम्बुतर्फ बाढी बढेको सूचना पाएपछि मानिसहरू सुरक्षित स्थानतर्फ सर्न पाउँदा मेलम्ची बजारतिर मानवीय क्षति बढी हुन पाएन।

इन्द्रावती नदी क्षेत्र (बरुवा भोताङ) तिर भने कुनै क्षति नभएको सिडिओ पोखरेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ