arrow

गण्डकी : प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
pahiro-balewa.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ ।  प्रदेशका जिल्लाहरूमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । 

मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबारै मनाङ गएका छन् । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ गएका हुन् । 

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई विपदमा उद्धार, आवश्यक सहयोगमा जुट्न र पूर्व तयारीमा रहन निर्देशन निर्देशन दिए । 

बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन निर्देशन दिए ।  मुख्यमन्त्री बहाली भएकै दिनमा भएको निर्णय अनुसार विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन पनि उनले निर्देशन गरेका छन् ।

प्रदेश सरकारले प्रदेशका नौ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि दुई/दुई लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ