arrow

मुख्यमन्त्री पोखरेललाई मनाङ लिएर गएको सेनाको हेलिकोप्टर फर्कन मानेन 

logo
डम्बर अधिकारी,
प्रकाशित २०७८ असार ३ बिहिबार
gandaki-pokhrel-army-helicopter-manang.jpg

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमा अड्किएका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको हेलिकोप्टर चढेर राहत सामग्री सहित मनाङ पुगेका थिए । 

मनाङ पुगेका मुख्यमन्त्रीले बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूसँग बाढीले पुर्‍याएको क्षतिको बारेमा जानकारी समेत लिएका थिए । मुख्यमन्त्री पोखरेलले राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका थिए ।

पूर्वनिर्धारित कार्यक्रममा सहभागी भई पोखरा फर्कने बेलामा भने उनले समस्या व्यहोर्नु परेको छ। सेनाको हेलिकोप्टरमा मनाङ पुगेका मुख्यमन्त्री पोखरेल फर्कने क्रममा समस्या भएको हो । मुख्यमन्त्रीलाई लिएर गएको सेनाको हेलिकोप्टर उद्धार कार्यमा आएको भन्दै मुख्यमन्त्रीलाई लिएर फर्कन नमानेपछि मुख्यमन्त्री पोखरेल र उनी सहित गएको टोली मनाङमा अड्किएको हो । मनाङमा अड्किएको मुख्यमन्त्री सहितको टोली निजी एयरको हेलिकोप्टरबाट आउन लागेको गण्डकी प्रदेशका प्रवक्ता कुमार खड्काले बताएका छन् । 

यता गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले भने उक्त हेलिकोप्टर प्रदेश सरकारले खर्च बेहोर्ने गरी पोखरा मनाङ पोखराका लागि प्रबन्ध गरिएको जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले भोलि विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनु अघिल्लो दिन भएको यो घटनालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ