arrow

विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल, राहत पुर्‍याएर फर्किए मनाङबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
krishna-chandra-nepali-pokharel-gandaki-pradesh.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिने प्रावधान भएकामा पाँच दिनपछि नै मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

बिहीबार राहत सामग्री लिएर हेलिकोप्टरबाट मनाङ पुगेका उनी बिहीबार खराब मौसमका कारण उतै रोकिनु परेको थियो । उनको टोली शुक्रबार बिहानै पोखरा फर्किएसँगै संसदको कार्यसूचीअनुसार नै उनले विश्वासको मत लिन लागेका हुन् । 

उनी बिहीबार नफर्कदा अलमल रहेको थियो । प्रदेश सभाका सचिव हरिराज पोखरेलले पहिलाकै कार्यसूची अनुसार सदनको कारबाही अगाडि बढ्ने बताए । 

अहिले बिहान ११ बजे बस्ने संसदको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यसमा सबै राजनीतिक दलका प्रतिनिधिले छलफल गरेर सकिएपछि शुक्रबारै बस्ने प्रदेश सभाको दोस्रो बैठकले मतदान प्रक्रिया अगाडि बढाउने छ । 

मत विभाजनमा जाने कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट टुंगो लागिसकेको छ । पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि पोखरेल जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

नीति तथा कार्यक्रम पारित भइसकेको र सरकारले बजेट प्रस्तुत गरे पनि विश्वासको मत लिएपछि मात्र छलफल शुरू गर्ने सहमति दलहरुबीच भएको छ । सरकारले हतारमा बजेट ल्याउनु परेकाले रातो किताब पनि तयार भइसकेको छैन । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । जसमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । 

प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ