arrow

मुस्किलमा मनाङ

मनाङबासीको पीडामा मल्हम लगाउन पुगे कर्मा घले

स्थानीय र कर्मचारीको ओडार र कारागारमा बास, नासों र चामेको स्वरुप नै परिवर्तन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
karma-ghale-manang.jpg

मनाङ । मनसुन शुरु भएसँगै मनाङमा आएको बाढीले मनाङको वास्तविक स्वरुपलाई नै परिवर्तन गरिदिएको छ । केही दिनअघि आएको बाढीले मनाङको नासों गाउँपालिका र चामेको स्वरुपलाई नै परिवर्तन गरिदिएको हो । 

बाढीका कारण नासों गाउँपालिकामा एउटा वडाबाट अर्को वडामा जान सक्ने अवस्था छैन । बाढीले गाउँपालिकाको कार्यालयसमेत बगाइदिएको छ । तीन सय भन्दा बढी परिवार प्रभावित भएका छन् । ‘मनाङको पहिले र अहिलेको स्वरुप विल्कुलै भिन्न छ, बाढीले मनाङलाई उजाड बनाइदियो, स्थानीयहरुको विचल्ली छ,’ मनाङबाट कांग्रेसका समानुपातिक सांसदसमेत रहेका नेता कर्मा घलेले भने । 

उनका अनुसार गाउँपालिकाको भवन बाढीले बगाएपछि स्थानीय र कर्मचारीहरु ओडारमा गएर बसेका छन् । जनताले गुनासो लिएर जाने सरकारी अड्डा नै छैन । ठूलो संख्यामा स्थानीयहरुलाई कारागारमा राखिएको छ । 

‘बाढीले गाउँपालिका भवन बगायो, स्थानीय र कर्मचारीको वास ओडारमा छ, स्थानीयको उद्धार त भयो, अब खानेकुरा अभाव हुँदैछ, जनताले आवाज लिएर जाने अड्डा नै छैन,’ घलेले हाम्राकुरासँग भने । 

उनका अनुसार बाढीले प्राइम बैंक र प्रभु बैंकको शाखा कार्यालय पनि बगाइदिएको छ । घरहरु ध्वस्त छन् । झोलुंगे पुल र पक्की पुल सबै छिन्नभिन्न छ । सबैभन्दा बढी नोक्सान धारापानीमा छ । बिजुली छैन । खानेपानीको हाहाकार छ । 

‘सरकारले उद्धार त गर्यो तर खानेकुराको अभाव हुन थालिसक्यो, जम्मा गरेर राखिएका खानेकुरा पनि पुर्याएर खानु पर्ने अवस्था छ, सरकारले खाद्यान्न पुर्याउनेतर्फ तत्काल ध्यान देओस्,’ घलेले त्यहाँको अवस्था सुनाउँदै भने । 

नेता घलेसहित पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार हेलिकप्टर भाडामा लिएर प्रभावित स्थलमा खाद्यान्न, औषधीसहितका सहयोग सामग्री पुर्याएका छन् । 

सो क्रममा उनीहरुले गृहमन्त्री खगराज अधिकारी र मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलाईसमेत मनाङमा तत्काल राहतका लागि योजना ल्याउन आग्रह गरेका छन् । 

‘लगभग सिंगो मनाङ नै पीडामा छ, व्यक्तिले दिएको सानातिना सहयोगले केही हुँदैन, सिंगो राज्यका तर्फबाट नै सहयोग आवश्यक देखिन्छ तर अहिलेसम्म मनाङमा उद्धारका कामबाहेक केही भएन,’ घलेले सुनाए, ‘स्थानीय रुन्छन, उनीहरुले पीडा पोख्न पनि सुन्ने मान्छे पाएका छैनन्, दैबले लिला गर्यो ।’

सांसद घलेले उद्धार र राहतका काममा केन्द्र र प्रदेश सरकारसँग समन्वय त गरिरहेका छन् । एक स्थानीयले भने, ‘उहाँ आउनु भएपछि अब केही हुन्छ कि भन्ने लागेको छ । अरु त आउँछन् फोटो खिच्छन् जान्छन् उहाँले केही गर्नुहुन्छ भने आशा छ ।’

बाढीले मनाङलाई अझ बढी दलदलमा पारेको छ । मनाङको विकास अझ पछाडि धकेलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ