arrow

डेढदेखि दुई महिनामा कोरोनाको तेस्रो लहर !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
corona-variant.jpg

काठमाडौं । अहिले कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहेको छ । पहिलो भन्दा दोस्रो लहर निकै गुणा घातक ठहरियो । तेस्रो लहर पनि आउने अनुमान भइरहँदा त्यो दोस्रोभन्दा अझ बढी खतरनाक हुने भन्दै सतर्कतका लागि आग्रहसमेत गरिएको छ । 

भारतीय आयुर्विज्ञान संस्थान एम्सका निर्देशक डा। रणदीप गुलेरियाले यस सम्बन्धी चेतावनी जारी गरिसकेका छन् । उनले पहिलो लहरको उत्कर्ष गत वर्षको १६ सेप्टेम्बर रहेको, दोस्रो लहरको उत्कर्ष ६ मे मा रहेको भन्दै तेस्रो लहर आगामी अगष्ट सेप्टेम्बरमा हुन सक्ने आँकलन गरेका छन् । 

उनले यदि कोरोनाको गाइडलाइन पालना नगर्ने हो भने र बजार या पर्यटन क्षेत्रमा भीड नरोक्ने हो भने तेस्रो लहर केवल ६ देखि ८ हप्तामा अर्थात् डेढ देखि दुई महिनामै आउने चेतावनी दिएका छन् । यसले भारतभरि आक्रमण गर्ने उनको भनाई छ । 

भारतमा अर्को लहर आउनसाथ द्रुत गतिले त्यो नेपालमा पनि प्रवेश गर्नेछ । नेपालमा गत २०७६ सालको माघ १० गते पहिलो संक्रमित देखिएकामा गएको चैतसम्म जति संक्रमित भएका थिए त्यो भन्दा बढी चैतदेखि असार ५ गतेसम्म संक्रमित थपिएका छन् । 

अर्थात् पहिलो भन्दा दोस्रो लहर कयौं गुणा तीव्र रुपले फैलियो र त्यो निकै घातक पनि भयो । मृतक पनि निकै नै बढे । 

डा गुलेरियाले अनुसन्धानले तेस्रो लहर वृद्धलाई भन्दा बढी प्रभाव बच्चालाई पार्ने भन्नेबारेमा प्रमाण फेला नपारिएको भन्दै सबै सचेत हुनुपर्ने बताएका छन् । पहिलो लहरमा विश्वभरमै वृद्धवृद्धालाई आक्रमण गरेकामा दोस्रो लहरमा वृद्धवृद्धा र बालबालिकासँगै सबैभन्दा बढी युवालाई आक्रमण गरेको थियो । 

भारतमा यसअघि सेप्टेम्बर अक्टुबरमा कोरोनाको तेस्रो लहर आउन सक्ने बताइरहेका बेलामा डा। गुलेरियाले भने अझै छिटो तेस्रो लहर आउने अनुमान गरेका हुन् । 

उनले कोरोनाको तेस्रो लहर रोक्न चार सूत्र दिएका छन् ।
१, धेरैभन्दा धेरैलाई कोरोनाको खोप लगाउने । 
२, कोरोना गाइड लाइनको पालना गर्ने । 
३, कोरोनाको संक्रमण बढेका स्थानमा अनुगमन । 
४, जहाँ कोरोना पोजेटिभ ५ प्रतिशतभन्दा बढी छन् त्यो क्षेत्रलाई संक्रामक क्षेत्र घोषित गर्ने । 

यो सूत्र नेपालमा पनि लागू गर्नुपर्ने देखिन्छ । 



नयाँ