arrow

उद्योगमन्त्री यादवको मूल मन्त्र –उद्योगमैत्री वातावरण निर्माण र बेरोजगारी अन्त्य 

logo
विनय यादव, 
प्रकाशित २०७८ असार ६ आइतबार
raj-kishor-yadav.jpg
तस्वीर–फाइल ।

सिरहा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने आफ्नो मूल उद्देश्य रहेको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

 ‘मुलुकमा उद्योगमैत्री वातावरण बनाउन सकियो भने मात्रै देशमा औद्योगिक विकास हुन्छ,’ मन्त्री यादवले भने, ‘र, देशमा औद्योगिक विकास गर्न सकियो भने बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ, मेरो मूल उद्देश्य यही हो ।’

औद्योगिक क्षेत्रको विस्तार र विकासले मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको भन्दै उनले आफू अहिले यसैप्रति केन्द्रित रहेको बताए । यसका लागि सञ्चालित उद्योगहरुलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योगहरु स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडि बढाएको मन्त्री यादवले बताए ।

उद्योगी व्यवसायीहरुको सुरक्षाको जिम्मेवारी राज्यको रहेको र यसमा राज्यले कुनै कसर बाँकी नराख्ने भन्दै उनले औद्योगिक क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

देशमा व्यावसायिक हकहित र उद्योगमैत्री वातावरण निर्माणका लागि राज्य गम्भीर रहेको भन्दै बिना हिच्किचाहट मुलुक भित्रका र बाहिरका लगानीहरुकर्ताहरुलाई औद्योगिक क्षेत्रमा बढीभन्दा बढी लगानी गर्न उनको आग्रह छ ।

तर, सरकारी मापदण्ड उल्लंघन गर्नेलाई भने छुट नहुने पनि मन्त्री यादवले बताए । बिना अनुशासन कुनै पनि मिसन सम्भव भएको इतिहास नरहेको भन्दै उनले देशमा औद्योगिक विकासका लागि राज्यमात्र गम्भीर भएर नहुने भएकाले उद्योगी व्यवसायी पनि गम्भीर हुनुपर्ने तर्क गरे । 

उद्योगी व्यवसायीहरु राज्यको औद्योगिक विकास एवं विस्तारको अभियानमा सच्चा मनले योगदान गरे राज्य अभिभावकत्व प्रदान गर्ने बाचा उनले गरे । मन्त्री यादवले कोरोना महामारीका कारण धरासायी बनेको औद्योगिक क्षेत्रको पुनरुत्थान र संरक्षण गर्दै गतिशील बनाउन गृहकार्य थालिसकेको पनि जनाए ।

मुलुकमा आपूर्ति व्यवस्थालाई सहज र सबैको पहुँच हुने खालको बनाएर उपभोग्य सामग्रीको अभाव समस्या अन्त्य गर्न पनि काम भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ