arrow

टेलिकमले लुम्बिनीबाट थाल्यो एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
nepal-telecom-building.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ। एनटी टिभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरूमा आइतबारदेखि वितरण सुरु गरिएको हो। 

टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइ रहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो।

हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरू उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्रायः सबै विदेशी टेलिभिजन च्यानलहरू ग्राहकहरूलाई उपलब्ध हुने टेलिकमले जनाएको छ । 

हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी) सेवा उपलब्ध गराइरहेको छ । बेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरू र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरू हेर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । 

टेलिकमले २०७७ पुस १७ गते सर्वप्रथम एनटी टिभी) सेवाको वितरण सुरु गरेको थियो । हाल यो सेवा काठमाडौँ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध रहेको छ । 

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरू सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध रहेको समेत टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ