arrow

अस्मिता हत्या प्रकरण : स्थानीयद्वारा नगरपालिका घेराउ

logo
राम धामी,
प्रकाशित २०७८ असार ७ सोमबार
parsuram.napa.jpg

डडेलधुरा। कोरोना विरुद्धको खोप बोकेर जोगबुडा अस्पताल आएकी परशुराम नगरपालिका–८ स्थित जमेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामीको हत्या भएको भन्दै स्थानीयले परशुराम नगरपालिका घेराउ गरेका छन्।

२६ वर्षीया कार्यालय सहयोगी अस्मिताको घरबाट हिँडेको चार दिन पश्चात् बीभत्स अवस्थामा जङ्गलमा शनिवार शव भेटिएको थियो। शव भेटिएको तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा शव परीक्षण गरिएको छ। शवको पोस्टमार्टम रिर्पोटमा उनको बलात्कार र हत्या भएको भन्ने विषयमा कुनै तथ्य फेला नपरेको अनुसन्धानमा संलग्न उच्च पदस्थ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

अब उनको भिसेरा परीक्षण गरिने जनाएको छ। असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव शनिवार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

जोगबुडा अस्पतालमा विज्ञ चिकित्सक नभएको भन्दै शवको पोस्टमार्टममा ढिलाइ भएको हो। पोस्टमार्टममा ढिलाइ भएपछि सोमबार ठुलो सङ्ख्यामा आएका स्थानीयले परशुराम नगरपालिकाको कार्यालय घेराउमा उगर्दै नगरप्रमुख भिमबहादुर साउदले ज्ञापन पत्र बुझाएका थिए। अस्मितको हत्यारा पत्ता लगाई निष्पक्ष छानबिन गरेर हदै सम्मको कारबाही गरिनु पर्ने  पीडित पक्षको माग छ।

पीडित परिवारलाई उचित राहतको व्यवस्था गरिनु पर्ने, पीडित परिवारका एक जना सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, परशुराम–८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रको नाम परिवर्तन गरेर अस्मिता स्मृति आधारभूत स्वास्थ्य इकाई केन्द्र नामकरण गरिनु पर्ने, मृतक अस्मिताका दुई छोरीको माध्यमिक तह सम्मको पठनपाठनका लागि छात्रवृत्तिको ग्यारेन्टी गरिनु पर्ने र उनीहरूको उच्च शिक्षा निःशुल्क गरिनुपर्ने लगायतका माग पीडित पक्षले अघि सारेका छन्।

अस्मितालाई न्यायका लागि राखेको मागसहितको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख साउदले मृतकको शवको पोस्टमार्टम भइसकेको र सङ्घीय र प्रदेश प्रहरीको उच्च स्तरीय अनुसन्धान टोलीले घटनास्थलको अनुसन्धान अघि बढाइसकेकाले दोषी उम्किन नसक्ने जिकिर गरे। पीडित पक्षबाट अघि सारिएका अन्य मागहरू सम्बोधनका लागि नगरपालिका र आफूले व्यक्तिगत रूपमा पनि कुनै कसर बाकी नराख्ने नगरप्रमुख साउदले बताए।

सो प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुई वटा टोली परिचालन गरेको छ। घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए।

शव भेटिए लगत्तै जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी महेन्द्र नेपालसहितको प्रहरी टोलीसमेत घटनास्थलमै पुगेर अनुसन्धानमा संलग्न छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ