arrow

स्थानीय जातका गाई संरक्षणका लागि गोरक्ष महोत्सव

logo
रासस
प्रकाशित २०७८ असार ८ मंगलबार
cow.jpg

काठमाडौं। स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताउनुभएको छ । श्री गोलोक गोवर्द्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट सुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्ष महोत्सवका वक्ताले वैज्ञानिक रूपमा महत्त्व पुष्टि भएको स्थानीय जातका गाई लोप हुँदै जान लागेकाले संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको हो । पछिल्लो समय फैलन थालेको कालो ढुसीबाट बचाउन लसुन र प्याज पनि उपयोगी रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले उच्च रक्तचाप र मधुमेहका रोगीलाई स्थानीय जातको गाईको दूधले फाइदा गर्ने तथा यी गाईमा पाइने कक्र्युमिन नामको तत्वले क्यान्सरलाई ठीक गर्न सहयोग गर्ने बताए । प्रकृति र पर्यावरणको संरक्षणका लागि पनि स्थानीय जातको गाईलाई जोगाउनुपर्ने उनको भनाइ थियो । 

“गाईलाई रासायनिक मलले असर गरेको छ, रासायनिक मलले स्थानीय जातका गाई बाँच्न आवश्यक वातावरण नष्ट हुन थालेको छ, गाईको गहुँतमा सुन नै पाइएको पनि अध्ययनबाट प्रमाणित भएको छ, स्थानीय जातका गाई मानिसजस्तै हिमालय क्षेत्रमा जान सक्छन्”, स्वामी चैतन्य कृष्णले भने । मानव शरीरमा एचआइभी एड्सविरुद्ध एण्टीबडी तयार पार्न गाईको दूध उपयोगी भएको तथ्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ । स्थानीय जातका गाईमा कीरा वा झिँगा कुनै अङ्गमा बसेमा त्यो मात्र हल्लाउन सक्ने क्षमता हुन्छ । यो क्षमता जर्सीलगायत अन्य जातका गाईमा हुँदैन ।

स्थानीय जातका गाईको शरीरमा सबै देवीदेवताले बास गर्ने भएकाले गौमाताका रूपमा पूजा आराधना गर्ने वैदिक सनातनी हिन्दु परम्परा छ । वैदिक ग्रन्थमा गोचरणभूमिलाई नाश गर्ने व्यक्तिको कल्याण हुँदैन भनी व्याख्या गरिएको छ । स्थानीय जातका गाईको वैज्ञानिक अध्ययन अनुसन्धानका लागि नेपालमै पहिलो पटक कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले प्रयोगशाला स्थापना गर्ने तयारी गरेको स्वामी चैतन्य कृष्णले बताए ।

नेपाल भूमिमा स्थानीय जातका गाई केन्द्रित कृषि प्रणाली, गाईमा आधारित अर्थनीति आवश्यक रहेकामा उनले जोड दिए। गाईको बिक्री, गाईलाई असहाय बनाएर छाड्ने प्रवृत्तिविरुद्ध जागरण फैलाउन सात दिने महोत्सव जुम प्रविधिबाट आयोजना गरिएको हो । भगवान् पशुपतिनाथको बास रहेको र बाबा गोरखनाथले तपस्या गर्नुभएको नेपाल भूमिमा वेदलक्षणा स्थानीय जातका गाईको दिगो पालनाले नै देशको संरक्षण हुने कार्यक्रमका अधिकांश वक्ताको भनाइ थियो ।

जरोकिलो महाअभियानका अध्यक्ष सह प्रा डा निर्मलमणि अधिकारीले वैदिक ज्ञानमा पुनर्जागरण सुरु भएकाले स्थानीय जातका गाईको पनि संरक्षण हुने वातावरण बनेको बताए । वैदिक गुरुकुल विगत १०० वर्षमा अहिले सबैभन्दा बढी पुगेकाले स्थानीय जातका गाईको संरक्षणमा गुरुकुलले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विसं २०१८ मा स्थानीय जातका गाईलाई बढी दूध दिने बनाउन सुई लगाउन सुरु गरेदेखि नै यसको अस्तित्व सिद्ध्याउन सुरु गरिएको अधिकारीले बताए । दूध बढाउन गौमातालाई यन्त्र बनाएकाले लोप हुने अवस्थामा पुगेको जनाइएको छ । विसं २०२८ मा संविधानमा हिन्दु राज्य उल्लेख गरिए पनि गौमाता एवं लक्ष्मीका रूपमा पुजिने स्थानीय जातका गाई नाश गर्ने अभियान सुरु भएको थियो ।

विसं २०२८ मा आएको नयाँ शिक्षाले धार नै परिवर्तन गरी नेपालको मौलिक विषयवस्तुलाई पन्छाउँदै गएपछि स्थानीय जातका गाईलगायत देशको पहिचानका मौलिकता बोकेका कुरा क्रमशः हराउन सुरु भएको अध्येता अधिकारीको भनाइ छ । हिन्दु जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले ‘गावो विश्वस्य मातर ः’ अर्थात् गाई विश्वकै आमा भनी शास्त्रमा वर्णन गरिएबाटै यसको महत्त्व झल्कने बताउनुभयो । स्थानीय जातका गाईको सेवाका लागि प्रत्येक नेपालीबाट सहयोग जुटाउने अभियान चलाउनुपर्ने उहाँको भनाइ थियो । 

आयोजक समितिका अध्यक्ष स्वामी नन्दकिशोरले सडकमा वृद्ध गाई र गोरु धेरै अलपत्र परेको बताए। यस्ता गाईलाई गिद्धले समस्या बनाउँदै लगेको उहाँको भनाइ थियो । महोत्सव आगामी शनिवारसम्म जुम प्रविधिबाट जारी रहने जनाइएको छ । कार्यक्रममा स्थानीय जातका गाईको संरक्षणका लागि सहयोगसमेत गर्न सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ