- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। मन्त्रीमण्डल पुनर्गठन खारेज गर्ने सर्वोच्च अदालतकोको निर्णयप्रति जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले असन्तुष्टि जनाएको छ। तर अर्को पक्ष उपेन्द्र यादव समूहले भने सर्वोच्चको निर्णयलाई स्वागत गरेको छ।
ठाकुर पक्षका नेता केशव झाले सर्वोच्चले अपव्याख्या गरेको बताए। तर पनि निर्णयलाई आफूहरूले मान्ने उनले बताए। ‘संविधानमा हुँदै नभएको विषयमा सर्वोच्चले अपव्याख्या गरी निर्णय गरेको छ,’झाले भने,‘संविधानले काहीँ पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गर्न पाउदैनन भनेको छैन।’
सर्वोच्चको निर्णयलाई कार्यपालिकामाथि न्यायपालिकाको हस्तक्षेपको रूपमा आफूहरूले बुझेका झाले बताए। सर्वोच्चको निर्णयप्रति सन्तुष्ट नभएको उनको भनाइ छ।
जसपाका ठाकुर पक्षका ११ जना नेता ओली सरकारमा सहभागी थिए। उनीहरूले महत्त्वपूर्ण मन्त्रालय पाएका थिए। तर २० दिन नपुग्दै उनीहरूको मन्त्री पद खोसिएको छ। सर्वोच्चले निर्णय सुनाउँदा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतो तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ बाढी पहिरोको निरीक्षण गर्न मेलम्ची पुगेका थिए। हेलिकप्टर मै उडेको बेला उनीहरूको मन्त्री पद खोसिएको थियो।
सर्वोच्चको निर्णय पछि प्रधानमन्त्री ओलीसँग आफ्नो सहकार्य कायम हुने उनले बताए। ‘सर्वोच्चको निर्णय पछि पनि हाम्रो सहकार्य कायमै रहन्छ’ उनले भने।
सर्वोच्चको निर्णयप्रति उपेन्द्र यादव पक्ष भने खुसी भएको छ। यादव पक्षका नेता रामसहाय यादवले सर्वोच्चको निर्णय स्वाभाविक भएको बताए। ‘प्रधानमन्त्रीले एक पछि अर्को गरी संविधान उल्लङ्घन गर्नु भएको छ। उहाँले संविधानको उल्लङ्घन गरेर मन्त्रीपरिषद् विस्तार गर्नुभयो। अदालतले त्यसलाई खारेज गरेको छ’ यादवले भने,‘त्यसैले सर्वोच्चको निर्णय स्वाभाविक छ।’ अहिले जसपाको ठाकुर र यादव पक्षबिच तिक्तता बढेको छ।