- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पाटीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले जसपाको दाबी नछाड्ने भएको छ । जसपाको आधिकारिकताको माग दाबी गर्दै उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा दुई पटक निवेदन दिएको छ । यादवको दाबी पछि आयोगले ठाकुर पक्षलाई १५ दिन भित्र जवाफ पेस गर्न निर्देशन गरेको छ।
यादवले ठाकुर पक्षलाई विपक्षी बनाइ आयोगमा आधिकारिकताको लागि निवेदन दिएपछि आयोगले ठाकुर पक्षसँग जवाफ मागेको हो । ठाकुर पक्षले जवाफ नपठाएमा यादव पक्षको मागले स्वतः वैधानिकता पाउँछ । तर ठाकुर पक्षले जसपाको दाबी नछाड्ने भएको छ ।
ठाकुरले बिहीबार आफू निकट कार्यकारिणी सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यहरूको बैठक बोलाएका थिए । बैठकमा सहभागी सांसद तथा कार्यकारिणी सदस्यहरूले आयोगमा दाबी पेस गर्न ठाकुरलाई सुझाव दिएका थिए । यसबारेमा ठाकुरले बुधवार आफू निकट कानुन व्यावासायीहरूसँग पनि छलफल गरेका थिए । निर्वाचन आयोगले भने अनुसार १५ दिन भित्र आफूहरूले आयोगमा जवाफ पेस गर्ने ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए।
स्रोतका अनुसार ठाकुरले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकको माइन्युटिङलाई आधार मानेर ठाकुर पक्षले आफ्नो वैधानिकता पेस गर्ने भएको छ । पुृस ७ गते बसेको कार्यकारिणीको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादवको सहमतिमा कार्यकारिणी सदस्यको हेरफेर र पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिइएको ठाकुर पक्षको भनाइ छ । उक्त बैठकको माइन्युटिङको प्रतिलिपि ठाकुर पक्षले गत असार १ गते निर्वाचन आयोगलाई बुझाएको छ । उपेन्द्र यादव पक्षले उक्त माइन्युटिङ नक्कली भएको दाबी गरेको छ भने ठाकुर पक्षले सक्कली भएको बताएको छ ।