काठमाडौँ । वरिष्ठ सङ्गीतकार अजय थापाको निधन भएको छ । थापाको कोरोना भाइस सङ्क्रमणबाट शुक्रवार निधन भएको हो । केही हप्ता अघि सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका थापाको स्वास्थ्यमा समस्या देखिएसँगै थप उपचारका लागि बिर्तामोड स्थित बीएन्डसी हस्पिटल लगिएको थियो । उनको शुक्रवार बिहान अस्पताल मै निधन भएको बीएन्डसीका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।
फोक्सोमा निमोनिया र मिर्गौलामा समस्या देखि पछि थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापाकी एक पत्नी र तीन सन्तान रहेका छन् । पत्नी राधा थापासमेत सङ्क्रमण भएर बीएन्डसी मै उपचाररत छिन् ।
सङ्गीतकार थापा नेपाली राष्ट्र गानका एक गायक पनि हुन् । व्याकुल माइलाले रचेको, अम्बर गुरुङले सङ्गीत भरेको नेपाली राष्ट्र गान ‘सयौँ थुँगा फूलका हामी’मा थापाले पनि गएका छन् । थापा अम्बर गुरुङका शिष्य हुन् । नेपाली गीत सङ्गीत क्षेत्रमा थापाको महत्त्वपूर्ण योगदान रहेको छ । धेरै विद्यालयहरूमा सङ्गीतका प्रशिक्षक थिए । उनको डिएभी, सेन्ट जेभियस, शुभ तारा लगायतका विद्यालयमा सङ्गीत प्रशिक्षक थिए ।
वरिष्ठ सङ्गीतकार थापा नेपाल मानव धर्म सेवा समितिको केन्द्रीय सदस्य तथा भक्ति सङ्गीत विभागका केन्द्रीय संयोजक थिए । थापाको निधनमा नेपाल मानव धर्म सेवा समिति राष्ट्रिय कार्यसमितिले दुख व्यक्त गरेको छ ।