arrow

कालीगण्डकी डाइभर्सन : आयोजना रद्द गर्न गण्डकी प्रदेशवासीको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
gandaki-kaligandaki.jpg

पोखरा । प्रदेश र प्रदेशवासीको हित विपरीत सङ्घ सरकारले काली गण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय/सर्वपक्षीय बैठक गरेको छ । बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त आयोजनाको विरोध गरेका छन् ।

उनीहरूले यो आयोजना तत्काल रद्द गर्न सङ्घ सरकारसँग आग्रह गरेका छन् । बैठकपछि सहभागी सबैले साझा अवधारणासमेत सार्वजनिक गरेका छन् । बैठकपछि जारी निर्णयमा भनिएको छ, ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्त्व बोकेको काली गण्डकी नदी डाइभर्सन योजना समग्र काली गण्डकी प्रश्रवण (प्रवाह) क्षेत्रका लाखौँ नागरिकको भावना विपरीत भएकाले हामी एक स्वरमा विरोध गर्छौँ ।’  

भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक र सामाजिक मात्र नभई ऐतिहासिक महत्त्व बोकेको काली गण्डकी नदी मात्र होइन सभ्यता पनि रहेकाले चितवनदेखि धादिङ हुँदै पाल्पासम्म फैलिएको काली गण्डकी प्रश्रवण क्षेत्रको अस्तित्व जोगाउने जिम्मा हामी सबै प्रदेश वासीको रहेको सहभागीले जोड दिएका छन् ।

विज्ञप्तिमा  यी तमाम विषयवस्तुको ख्यालै नगरी सङ्घ सरकारले काली गण्डकी बहुउद्देश्यीय डाइभर्सन योजना अगाडि सारेपछि गण्डकी प्रदेशवासी र काली गण्डकी तटका बासिन्दालाई झस्काएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले असार १२ गते उक्त आयोजनाको कार्यालय बुटवलमा उद्घाटन गरेका थिए । 

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको र सबै राजनीतिक दल, सङ्घ संस्थाको साझा अवधारणा बनाउन बैठक डाकिएको बताए । 

काली गण्डकी वरपरका क्षेत्रका बासिन्दा मात्र नभएर समग्र प्रदेश वासीको साथ लिएर आफू अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । प्रतिपक्षमा रहेका बेलामा समेत आफूले यसका बारेमा आवाज उठाएको भन्दै यसका यो आयोजनाका बारेमा सिंगो प्रदेश सभाको एक स्वर रहेको समेत बताए । 

कार्यक्रममा माओवादी केन्द्र प्रदेश अध्यक्ष हितराज पाण्डेले चुनाव घोषणा गरेको सरकारे थालेको यो योजनाले समग्र मुलुकवासीलाई चिन्तित तुल्याएको बताए । उनले भने, ‘यसले हामीलाई तरङ्गित बनाएको छ । नदीको प्राकृतिक बहावलाई रोक्नु हुँदैन ।’ 

प्रदेश २ को सिमानामा बग्ने नदीका बारेमा यति ठुलो निर्णय गर्दा प्रदेशसँग कुनै सल्लाह नगरी आएकाले यो कदम सङ्घीयताको विरोधमा रहेको उनले बताए । 

गण्डकी छेउछाउका उब्जाउ टारलाई सुख्खा बनाउने षड्यन्त्रबाट यो आयोजना निर्देशित रहेको उनको भनाइ थियो । उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्रका लागि व्यवस्थित गर्नुको साटो डाइभर्सन गर्ने भनिएको छ । यो कसरी सम्भव हुन्छ ?’

नेपाली काँग्रेस संसदीय दल सचेतक मणिभद्र शर्मा कँडेलले संंघीय सरकारको प्रभावशाली मन्त्रीले चुनावलाई प्रभाव पार्ने तरिकाले यो योजना अगाडि सारिएको बताए । उनले भने, ‘यो सङ्घीयताको विरुद्धमा छ, सहमति, सहअस्तित्वको भावना विपरीत  छ । सामाजिक, सांस्कृतिक सम्पदा खलबलिन दिनु हुँदैन ।’ 

जसपा गण्डकी अध्यक्ष मोती रिजालले योजनाले पार्ने असरका बारेमा अध्ययन समेत नगरी सुरु गरिएको आयोजना कुनै हालतमा अगाडि बढ्न दिन नहुने बताए । उनले भने,‘नदीको मुहान पनि यही प्रदेशमा पर्छ, पुछार पनि यही प्रदेशमा पर्छ । कानुनी हकले पनि यसलाई अन्त मोड्न सकिँदैन । यसले भविष्यमा दिने लाभका बारेमा विस्तृत अध्ययन हुनु पर्दैन ?’ 

राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालले नदीको पर्यटकीय र संस्कृति महत्त्व जोगाउने दायित्व प्रदेश सरकारको हो भन्दै काली गण्डकीलाई यथोचित रूपमा बग्न दिनुपर्ने बताए । 

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यापर्यटन जोगाउन प्रदेशवासी एक हुन आग्रह गरे । उनले भने, ‘तटीय क्षेत्रलाई मरुभूमिकरण गर्ने षड्यन्त्र हो यो, भावी पुस्ताका लागि यसलाई जोगाउनु पर्छ ।’ 

संरक्षण अभियन्ता कुलराज चालिसेले हिमालभन्दा पुरानो इतिहास बोकेको काली गण्डकीका बारेमा यति ठुलो निर्णय गर्दा सरकारले कसैसँग सरसल्लाह नगर्नु निकै दुःखपूर्ण रहेको बताए । यसले पोखराको पर्यटकीय मेरुदण्डमाथिको प्रहार मात्र होइन  काल गण्डकी कोरिडोर र शालिग्राम कोरिडोरको अस्तित्वमाथि नै खतरा निम्त्याएको उनले भनाइ राखे । 

डा. अनिल सुवेदीले पारिस्थितिक प्रणाली नै खलबलाउने गरी यो काम हुन लागेको भनाइ राखे । उनले भने,‘जलचर र जैविक विधिताकको मूभमेन्ट त्यससँग जोडिएको हुन्छ । जलचरको रुटमा असर पर्छ । फ्लोरा र फाउनमा असर पर्दछ । जैविक विविधता कोरिडोर पनि हो यो ।’  

डा. रामचन्द्र बरालले गण्डकी त्रिकोणले धेरै ठुलो सभ्यता बोकेको भन्दै बोन, बुद्धिस्ट र सनातन हिन्दुको आस्था जोडिएको यो नदी खण्डित गर्दा जैविक विविधता त नष्ट हुन्छ बताए । 

राजमोका प्रदेश सभा सदस्य पियारी थापाले काली गण्डकी डाइभर्सन पर्यावरणमाथिको ठुलो हमला हो भन्दै नदीजन्य सभ्यता मासेर मरुभूमीकरण गर्ने षड्यन्त्रको विरोध गर्नुपर्ने बताइन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ पूर्व अध्यक्ष आनन्दराज मुल्मीले एउटा प्रदेश सिञ्चित गर्दा अर्को प्रदेशमा मरुभूमीकरण गर्ने योजना कुनै हालतमा अगाडि बढ्न दिन नहुने बताए । 

पूर्व मन्त्री एवं माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले यो आयोजना सभ्यता र संस्कृतिको विरुद्धमा रहेको बताए । 

कार्यक्रममा नागरिक समाज कास्कीका रामबहादुर पौडेल, कास्की काँग्रेस सभापति कृष्ण केसी, उपसभापति बृजमान गुरुङ, सचिव देवेन्द्र रानाभाट, एमाले (माधव समूह) कास्की अध्यक्ष धनराज आचार्य, जसपा प्रदेश इन्चार्ज गणेशमान गुरुङले भनाइ राखेका थिए ।
 
यसै गरी काँग्रेस सांसद दोबाटे विश्वकर्मा, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइराला, गैसस महासङ्घ प्रदेश अध्यक्ष बिना सिलवाल, पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्की जिल्ला अध्यक्ष विमला भण्डारी, राप्रपाका पञ्चराम गुरुङ, जसपा जिल्ला अध्यक्ष गिरिप्रसाद गुरुङ, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले एक स्वरमा उक्त आयोजनाको विरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ