arrow

४५ बर्षदेखि चलनमा रहेको हस्त लिखित भिसा विस्थापित, डिजिटल प्रणाली शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
Digital-nepal.jpg

काठमाडौं । अध्यागमन विभागले ४५ बर्षदेखि विदेशी नागरिकलाई जारी गर्दै आएको हस्त लिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरुवात गरेकोछ ।

सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरे । पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरिएको छ।

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न ‘जेनेरेट’ गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने  र सिस्टमबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुने बताइएको छ ।

कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ।

अब नेपालको भिसा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा लागू गर्न सकिने भएको बताइएको छ । हाल बिभागबाट शुरू भएको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना छ ।

उक्त अवसरमा उपप्रधानमन्त्री पौडेलले सरकारी सेवालाई विद्युतिय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा दिने बताए ।  उनले भिसामा गरिएको प्रविधियुक्त सुधारले  नेपाली भिसालाई अन्तर्राष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने कुरा व्यक्त गरे ।

सरकारको डिजिटल नेपाल फ्रेमवर्क वमोजिम नै यो सेवा प्रारम्भ भएको र आगामी दिनमा सवै सरकारी सेवा विद्युतीय माध्यमबाट दिने कार्यमा सरकारले तिब्र रुपमा काम गरिरहेको पनि पौडेलले बताए ।

नेपालको अध्यागमन सेवालाई आधुनिक,विश्वसनिय, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य बमोजिम यस भन्दा पुर्व नेपाली पोर्टको समुद्घघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उक्त कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने, बिभागका महानिर्देशकसहित गृह मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सहभागिता थियो । 
 



नयाँ