- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले सोमबार डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । सिफारिसबारे थप निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने छ ।
केही दिनअघि बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीतर्फ एक जना एआइजीको दरबन्दी थप गरेको थियो । एआइजीमा सिफारिसमा परेका थापाको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेमा थापा नेपाल प्रहरीको एआइजी बन्ने छन् भने आगामी प्रहरी महानिरिक्षकको दौडमासमेत उभिने छन् ।
यसअघि गत वर्षको २७ कार्तिकको मन्त्रीपरिषद् बैठकले विश्वराज पोखरेललाई एआइजी बनाएको थियो । त्यसयता उनी आगामी प्रहरी नेतृत्वका लागि एक्ला दाबेदार रहेका थिए ।
अब भने एआइजी पोखरेल र थापाबीच आगामी प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धा हुने पक्का भएको छ । नेपाल प्रहरीका हालका प्रमुख आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।