काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि नै दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा चार जना युगान्डाका र एक जना इन्डोनेसियाका नागरिक छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्ने र दुःख हैरानी दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताए।
कार्यक्षेत्रमा खटिएको प्रहरी टोलीले सुरुमा उनीहरूलाई सम्झाइबुझाइ गर्न खोजेको थियो। तर, सम्झाउने क्रममा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार र दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिनु परेको प्रवक्ता भट्टराईले उल्लेख गरे। पक्राउ परेका पाँचै जना विदेशी महिलामाथि अहिले हिरासतमा राखेर थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।