असई थमन विक हत्या प्रकरणमा एमाले पूर्वसांसद कोइरी र शर्मासहित छ जनालाई पाँच वर्ष कैद
तीन जनाको जन्मकैद सदर
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
240
Shares
तस्बिर फाइल
काठमाडौँ । प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले एमाले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ। उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो र निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय गर्ने फैसला गरेको हो।
यसैगरी, सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरू प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐन बमोजिम जन्मकैदको सजाय सुनाएको छ। यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते यी तीनै जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने पूर्वसांसद महतो र पवन कापरलाई सफाइ दिएको थाहा भएको छ। उच्च अदालतले जिल्ला अदालतको उक्त जन्मकैदसम्बन्धी फैसला मिलेको ठहर गर्दै तीनै जनाको हकमा पुरानो सजाय सदर गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेले बताए।
उच्च अदालतको फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको र जन्मकैदको सजाय पाएका तीनै जना प्रतिवादीविरुद्ध किटानी जाहेरी परेको उल्लेख छ। अनुसन्धानका क्रममा उनीहरूले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक र प्रत्यक्षदर्शीहरूले उनीहरूको संलग्नता पुष्टि गर्ने बयान दिएको अदालतले स्पष्ट पारेको छ। घटनास्थलको तस्बिरबाट समेत प्रतिवादी सञ्जयकुमार साहले थमन विकमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ।
पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरको हकमा भने थमन विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि जन्मकैद सजाय पाएका प्रतिवादीहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिएकाले मुलुकी ऐन अनुसार पाँच वर्ष कैदको सजाय तोकिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते कार्यक्षेत्रमा खटिएका बेला महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट असई विकको मृत्यु भएको थियो।