काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा मंगलवार तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्त उपसमूहको शेयर २६.४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर दुई हजार ८२८मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७ बिन्दुले घटेर ५२३.७० मा सिमित भयो । कूल २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर रु छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बीमा १६५.९८, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८४ ले घट्दा लघुवित्त उपसमूह भने २६.४ बिन्दुले उकालो लाग्यो ।
कारोवारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ७९० मा रु ४९ करोड ८३ लाख २५ हजार ९५० बराबरको कारोवार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३६ करोड ७८ लाख ५० हजार ५०, एचआइडिसिएल रु २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी रु २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी रु १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।