arrow

गण्डकीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
nepal-is.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच पोखरामा भेट भएको छ । 

पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न आफूहरू इजरायलसँग सहकार्य गर्न तयार रहेको बताए । 

अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उनले बताए । 

यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ । आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दूराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो । उक्त कम्पनीका कृष्ण बजगाईंले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाउने गरिएको बताए । 

मुख्यमन्त्री पोखरेलले नेपाल र इजरायलबिच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गरे । 

इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवर्द्धनका लागि समेत समेत बिपी कोइरालाले पहल गरेको उनले बताए । दुई देशबिच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको उनको भनाइ थियो । 
 
राजदूत गोडेरले नेपाल र इजरायलबिच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए । अहिले सातै प्रदेशबाट ५ सयको हाराहारीमा युवा किसानहरू तालिमका लागि इजरायलमा छन् । 

उक्त अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल इजरायल सम्बन्ध र सहकार्यका बारेमा भनाइ राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ