arrow

सरकार प्रेस स्वतन्त्रताप्रति सधैँ प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
krishna-nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार प्रेस स्वतन्त्रताप्रति सधैँ प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको टोलीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले पत्रकारको हकहितका लागि साधन स्रोतले भ्याएसम्म पत्रकारहरूसँगै सल्लाह गरेर अघि बढ्ने बताए ।

आफ्नै पार्टीको सरकार हुँदा प्रेस युनियनले धेरै खालका अपेक्षा गर्नु स्वाभाविक नै भएको भन्दै उनले पत्रकारका माग पूरा गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।

सोही अवसरमा सामाजिक विकास मन्त्री तथा प्रवक्ता कुमार कुमार खड्काले यो वर्षको बजेटमा पत्रकारका लागि केही नयाँ कार्यक्रम ल्याएको बताए । 

पत्रकारका लागि दुई करोड भन्दा माथिको बजेट छुट्टाएको उनको भनाइ छ । पत्रकार महासङ्घको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माणका लागि ६० लाख बजेटको प्रस्ताव गरेको उनले जानकारी दिए । 

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवी पत्रकारको मनोबल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । प्रेस स्वतन्त्रताका लागि अघिल्लो सरकारले भन्दा १० गुणा बढी काम गर्नुपर्ने उनको धारणा थियो । 

पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीले प्रदेशका पत्रकारहरूको अभिभावकत्व निभाउने काम गर्नुपर्ने बताइन् । सरकारले गरेका कामलाई सफल बनाउन पत्रकार सधैँ लागिपर्ने उनको भनाइ थियो । 

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले लोककल्याणकारी विज्ञापनको मूल्य बढाउन माग गरिन् ।
कार्यक्रममा युनियनका सल्लाकारहरू राजबहादुर गुरुङ, गंगाधर पराजुली, केन्द्रीय उपाध्यक्ष रमेश पौडेल लगायतले आमसञ्चार प्रतिष्ठान, मिडिया विधेयक मिडियामैत्री बनाउनुपर्ने, पत्रकारको क्षमता वृद्धि लगायतका विषयमा आआफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ