arrow

मनाङका सरकारी कार्यालयलाई सोलार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
solar.JPG
तस्वीर–फाइल ।

पोखरा । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको बताए । उनका अनुसार करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाउने व्यवस्था गरिएको छ । 

सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै व्यहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१ (१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पुर्याइएको छ । बुधबार नै सामान बेँसीशहर पुर्याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।

मनसुन शुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिराका कारण स्थानीयस्तरका लघुजलविद्युत् योजनामा क्षति पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन । 

असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले तोेकेको प्राथमिकता क्रमअनुसार सोलार सरकारी कार्यालयलाई प्रदान गर्न लागिएको हो । कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो । 

स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप जोगाउन समस्या भएको बताए । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको उनले जानकारी दिए । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको उनको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ