arrow

उपत्यकामा जोरबिजोर हट्यो : निषेधाज्ञा एक साता थप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
lockdown-ktm-traffice.jpg

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो चरण सुरु भएपछि १६ वैशाखबाट काठमाडौँ उपत्यकाकामा जारी गरिएको निषेधाज्ञा पुनः एक साता थप गरी ३१ असारसम्म कायम गरिएको छ ।  आइतबार सेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो । 

बैठकले तीन जिल्लामा दुई साताअघिबाट सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गरिएको तर निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली भने हटाइएको जानकारी दिए । तर ती सवारी साधनहरू स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न पाइने छ । यो नियम २२ असारबाट लागू हुनेछ । 

यसै गरी सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने ढोकामा स्यानिटाइजर राख्नु पर्ने छ । यस्तै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने छ भने चालक र सहचालकले मास्कसहित भाइजर र पन्जा पनि लगाउनु पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौद्धारा जारी आदेशमा उल्लेख छ । यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४/४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनले दुईतर्फ सिटको बिच भागमा प्लास्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।

पसल व्यवसाय ६ बजेसम्म
यसै गरी उपत्यकामा सबै किसिमका पसल व्यवसाय साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ११ बजेबाट तोकिएको थियो । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी कायम राख्नु पर्ने छ भने पसलमा स्यानिटाइजर राख्नु पर्ने छ । 


केही क्षेत्रमा निषेध कायमै

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार अझै पनि खुला स्थानमा भेला हुन, सभा सम्मेलन, जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद र भिडभाड हुने कार्यक्रम गर्न निषेध हुनेछ । 

यसै गरी विवाह व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटेल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरूमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनमा लगाइएको रोक कायमै छ ।
 
स्थानीय ढुवानी बिहान ९ देखि ११ तथा अपराह्न ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ । यस्तै होटेल रेष्टुरेण्टहरु भने साँझ ७ बजेसम्म टेक अबे अथवा होम डेलिभरी सेवा दिने गरी सञ्चालन गर्न पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ