arrow

नेपाली सेनाले प्रहरीलाई दियो तीन सय थान हतियार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
police-army.jpg

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय थान हतियार दिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूणर्चन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सोमबार सैनिक मुख्यालयमा एक कार्यक्रमबीच ती हतियार प्रदान गरेका हुन् ।

प्रधानसेनापति थापाले प्रहरीलाई तीन सय नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

प्रहरीले सरकारसँग हतियार माग गरेपछि गत १७ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निणर्य अनुसार सेनाले प्रहरीलाई ति हतियार प्रदान गरेको हो ।

प्रहरीको अनुरोधमा सरकारबाट भएको निणर्यबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाले १० हजार ८ सय १८ नाल हतियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने बताइएको छ ।

प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम संचालन गर्ने प्रयोजनका लागि हतियार माग गरेको थियो ।

सेनाले दिएका हतियार मर्मत तथा संचालनसम्बन्धी तालीमसमेत प्रहरीलाई दिने छ ।  सेनाले बाँकी हतियार आगामी वैशाखभित्रमा हस्तान्तरण गरिसक्ने बताएको छ ।

हतियार हस्तान्तरण कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ उपरीक्षक दिपक थापाबीच सहमतिपत्र आदानप्रदान भएको थियो ।

शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने सो हतियारले प्रहरीको क्षमता अभिवृृद्धि गर्ने लक्ष्य लिइएको छ । यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पनि छ सय थान इन्सास राइफल उपलब्ध गराएको थियो ।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ